४ जुलाई, भियना । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको अध्यक्ष पदमा जिवनजङ्ग कुँवर झिनो मत अन्तरले विजयी भएका छन् । एनआरएनए अष्ट्रियाको आइतबार सम्पन्न अधिवेश अन्तरगत नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी दिपक ढुंगानालाई ३ मतले पराजित गर्दै कुँवर अध्यक्ष पदमा विजयी भए । कुँवरले १ सय ७४ मत प्राप्त गरे भने ढुंगाले १ सय ७१ मत प्राप्त गरेका छन् ।
कार्यसमितिको महासचिवमा निर्मल पौडेल विजयी भएका छन् । उनले १ सय ५५ मत प्राप्त गरे । उनको निकटतम प्रतिद्वन्द्वी सागर सुवेदीले ९७ तथा अर्का प्रतिस्पर्धी सूर्य पौडेलले ९४ मत प्राप्त गरे ।
उपाध्यक्षमा विनोद चौलागाई र मनोज विष्ट विजयी भएका छन् भने महिला उपाध्यक्षमा निरु लामिछानेले जित हासिल गरेकी छिन् ।
कोषाध्यक्षमा अत्यधिक मत प्राप्त गरी अनुज उपाध्याय विजयी भएका छन् । उपाध्यायले २ सय १८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी विना फुच्सले १ सय १८ मत हासिल गरेकी छिन् ।
साथै युवा संयोजकमा किरणलाल श्रेष्ठ, महिला संयोजकमा भवानी तिवारी, सचिवमा निता सापकोटा र सम्झना गिरी र सहकोषाध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन् ।
अधिवेशनको उदघाटन समारोहमा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग भियनाका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम प्रकाशकुमार सुवेदीले विशेष आतिथ्यता ग्रहण गरेका थिए भने एनआरएनए युरोप प्रतिनिधि दावा शेर्पा प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।