२१ असोज, सप्तरी । एक सातादेखि भारतमा थुनामा रहेका सीमा रक्षक देवनारायण यादव र उनका छोरा अजय शनिबार रिहा भएका छन् ।
विहार राज्यको सुपोल जिल्लास्थित अदालतको आदेशमा तिलाठी-कोइलाडी गाउँपालिका १ निवासी देवनारायण बाबुछोरा शनिबार साधारण तारेखरिहा भएका हुन् । उनीहरु साधारण तारेखमा रिहा भएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश सिंहले जानकारी दिए ।
उनीहरुविरुद्ध अपहरण मुद्दा लगाइएको थियो ।
देवनारायणका कान्छा छोरा अजयले केही महिना पहिले भारत कुनौलीकी ज्योति साहलाई भागी विवाह गरेका थिए । तर, ज्योतिका माइती पक्षले अजयसहित चार जनाबिरुद्व अपहरणको उजुरी कुनौली थानमा दिएका थिए । तर, दशैंको बेलामा सीमा पारी गरेको बेला अजयले भारतीय प्रहरीले पक्राउ गरेको थियो । छोरालाई छुटाउन गएका देवनारायणलाई पनि पक्राउ गरिएको थियो । बुहारी ज्योतिले अदालतमा इन्कारी बयान दिएपछि न्यायाधीशले रिहा गर्न आदेश दिएका थिए । अहिले कुनै प्रतिकृया दिन्नँ रिहा भएपछि सीमा रक्षक देबनारायणले अहिले कुनै पनि प्रतिकृया नदिने बताएका छन् । अनलाइनखबरको टेलिफोन सम्पर्कमा आएका उनले भने, ‘अहिले केहि भन्दैनौं ।’ ‘म पक्राउ परेपछिको वातावरण बुझ्छु, गाउँलेहरुसँग सरसल्लाह गर्छु अनि मात्रै कुनै प्रतिकृया दिन्छु’ उनले भनेका छन् । आफू पक्राउ परेपछि रिहा हुने बेला आफ्नो गाउँ तिलाठीका ५० जनाभन्दा बढी व्यक्ति भारतको वीरपुर पुगेको बताउँदै उनले भने, ‘ती समाजसँग छलफल नगरिकन म केहि बोल्दिनँ ।’ भारतीय प्रहरीले कस्तो व्यवहार गरेको ? भन्ने प्रश्नमा उनले अहिले तत्कालै केहि नबोल्ने बताएका छन् । गत वर्ष सप्तरीको तिलाठीमा भारतीय पक्षले बनाएको अबैध बाँध देवनारायणकै अगुवाईमा स्थानीयबासीप्ले भत्काएका थिए । त्यसक्रमा उनी घाइते पनि भएका थिए । त्यसको बदला लिन देवनारायणलाई पक्राउ गरेको बताइन्छ ।