यसरी बखेडा झिकेर बाम गठबन्धनबाट बाहिरिएका थिए बाबुराम

भिडियो सहित हेर्नुहोस !
Advertisement
नयाँ शक्तिका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका बरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश' यतिबेला गोरखा क्षेत्र नं. २ को चुनावी प्रतिस्पर्धामा छन् । २०७२ असोज ९ गते माक्र्सवाद नै परित्याग गरी नयाँ शक्ति बनाएका डा. बाबुराम भट्टराई दुई वर्षपछि असोज १७ गते बाबुराम बाम गठबन्धनमा सामेल भए ।
 बाम गठबन्धनमा सामेल भएको ७ दिन नबित्दै बाबुराम कांग्रेससँग गठबन्धन बनाएर यतिबेला गृह जिल्ला गोरखामा व्यस्त छन् । एमाले-माओवादी गठबन्धन जति आकस्मिक थियो, त्यसभन्दा निकै रहस्यमय तरिकाले बाम गठबन्धनमा आएका थिए बाबुराम । माक्र्सवाद नै छोडेर हिँडेका बाबुराम कम्युनिष्ट पार्टी बनाउन किन आए ? यो प्रश्न त्यतिबेलै धेरैको मनमा थियो । तर, ७ दिन नबित्दै बाम गठबन्धन छोडेर कांग्रेसमा गएपछि यतिबेला बाबुराम किन आए र किन गए ? भन्ने व्यापक कौतुहलता छ ।
२०७५ सालमा देशकै पहिलो शक्ति बन्ने सपना बोकेर बाहिरिएका बाबुरामलाई त्यतिबेला ठूलो झड्का लाग्यो, जतिबेला नयाँ शक्तिले स्थानीय निर्वाचनमा २ सिट मात्र जित्यो । नयाँ शक्तिको पराजय त्यतिमै रोकिएन, देवेन्द्र पौडेल लगायतका अधिकांश पूर्वमाओवादी नेता-कार्यकर्ता माओवादी केन्द्रमै फर्किए । त्यही झड्काले बाबुराम जसरी पनि सुरक्षित राजनीतिक अवतरण चाहन्थे, एमाले-माओवादी समीकरणमै मिसिनु उनले मौकामा चौका ठाने । असोज १७ गतेको बाम तालमेल सभामा बाबुरामले एकता र समाजवादको वकालत गरे । तर, आफ्नो ७ मिनेट लामो भाषणमा माक्र्सवादको भने उच्चारण गरेनन् ।
देवेन्द्र पौडेलहरु माओवादी फर्केपछि नयाँ शक्तिमा पूर्वपञ्च र पूर्वकर्मचारी मात्रै बाँकी रहे । उनीहरुले माक्र्सवाद मान्ने हो भने हामी किन तपाईको पार्टीमा बस्ने ? हामी कुनै हालतमा बामपन्थी हुन सक्दैनौं भनेर भट्टराईको सातो लिएपछि उनी अप्ठ्यारोमा परे । दक्षिणको निरन्तरको दवावले उनी बाम गठबन्धनमा टिक्न सकेनन् र बाम गठबन्धन तोडिएको घोषणा गरे ।

कतिपयले बाबुराम बाहिरिनुमा गोरखा क्षेत्र नं.-२ को विवाद भएको अनुमान पनि गरे । तर, त्यो मात्रै कारण थिएन । एमाले-माओवादी दुवै भट्टराईलाई गोरखा १ वा काठमाडौंबाट प्रत्यक्ष चुनाव लडाउन तयार थिए । तर, पार्टीभित्रकै दवाव र दक्षिणको चेतावनीले उनी अप्ठ्यारोमा परे । त्यसपछि नयाँ शक्तिको मूख्य टिममा गठबन्धनबाट बाहिरिने विषयमा छलफल चलेको नयाँ शक्तिका एक नेताले बताए ।
बाम गठबन्धनबाट बाहिरिने बहानाका लागि स्थानीय चुनावमा ७१००० मत पाएको नयाँ शक्तिले संघीय संसदमा २३ सिट र प्रादेशिक संसदमा ४४ सिट माग्यो । गोरखा-२ मै माओवादीको १८००० मत हुँदा ७९०० मत रहेको नयाँ शक्तिलाई २३ सिट दिने कुरा एमाले-माओवादीको कल्पना बाहिरको कुरा थियो, उनीहरुले नयाँ शक्तिको प्रस्ताव मानेनन् । बाबुराम चाहन्थे, यही प्रस्तावका कारण गठबन्धनबाट निस्कन सकियोस् । अन्तिममा प्रत्यक्षमा १ सिट पनि जित्न कठिन भएको नयाँ शक्ति सम्मानजनक सिट नपाएको दावीसहित गठबन्धनबाट बाहिरियो ।
एमाले-माओवादी गठबन्धनमा संघमा २३ र प्रदेशमा ४४ सिट दावी गरेको नयाँ शक्ति संघमा २ सिट र प्रदेशमा ४÷५ सिट लिएर कांग्रेस गठबन्धनमा सामेल भएको छ । नयाँ शक्तिले संघमा गोरखा-२ र रसुवा लिएको छ भने बाँकी सबै ठाउँमा रुखमा भोट हाल्दैछ । एमाले-माओवादीसँग २३ सिट मागेका बाबुराम २ सिट पाएर कांग्रेससँग गठबन्धन गर्नुमा दक्षिणकै दवाव रहेको विश्लेषकहरुको विश्लेषण छ । उनले वाम गठवन्धनसँग मागेको सिटको सूचि अन्नपूर्णले प्राप्त गरेको छ ।

Related Posts: