यी हुन् लक्ष्मीका उपासक

भिडियो सहित हेर्नुहोस !
Advertisement


दशैँका अवसरमा विभिन्न देश घुमघाम गरेर फर्केका उद्योगी तथा व्यवसायी तिहार तथा लक्ष्मीपूजा 'सेलब्रेसन' गर्ने चटारोमा छन्।धन आर्जनमा खटिने व्यवसायी तथा उद्योगीले कुनै पनि हालतमा 'मिस' नगर्ने पर्व हो– लक्ष्मीपूजा। यमपञ्चकका पाँच दिनको भिन्नाभिन्नै महत्व र विशेषता भए पनि व्यवसायीका निम्ति धन तथा समृद्धिसँग जोडिएको लक्ष्मीपूजा खास हुन्छ।
उद्योगपति विनोद चौधरीका विभिन्न वार्षिक कार्यक्रममध्ये महत्वपूर्ण कार्यक्रममा पर्छ, लक्ष्मीपूजा।व्यवसाय विस्तारका क्रममा अधिकांश समय नेपाल बाहिर हुने उनी लक्ष्मीपूजाका लागि भने अनिवार्य रूपमा नेपाल आइपुग्छन्।विश्वप्रसिद्ध फोब्र्स म्यागजिनको अर्बपतिको सूचीमा पर्नुका पछाडि निरन्तर लक्ष्मीको उपासक बन्नु पनि एउटा कारण हो कि ? भन्ने प्रश्नमा चौधरी मुस्कुराउँदै भन्छन्, 'पक्कै पनि हो।

लक्ष्मी र सरस्वतीको भक्तले मात्रै यो अवसर पाउँछन्।म लक्ष्मी र सरस्वतीको उपासक हुँ।कर्ममा विश्वास गर्ने मानिस हुँ ।' वार्षिक २० अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्ने चौधरी ग्रुपका अध्यक्ष चौधरी व्यवसायीले कर्म र मेहनतमार्फत लक्ष्मीको उपासना गर्नुपर्ने बताउँछन्।

चौधरीको घर र अफिस दुवै स्थानमा बाउबाजेको पालादेखि नै भव्य रूपमा लक्ष्मीपूजा हुँदै आएको छ।सीजी मुख्यालय सानेपामा तीन भाइ (विनोद, वसन्त, अरुण) लक्ष्मीपूजा गर्छन्।अफिसमा पूजा सकाएर उनीहरू मूल घर ठमेलमा लक्ष्मीपूजा गर्न पुग्छन्।

'बाउबाजेबाट आफूले आत्मसात् गरेको लक्ष्मीपूजाको महत्व नयाँ पुस्ताले पनि गरोस् भन्ने चाहन्छु,' चौधरी भन्छन्, 'लक्ष्मीपूजाका दिन विदेशमा कार्यरत छोराहरू पनि काठमाडौँ आइपुग्छन् र लक्ष्मीको साधना गर्छन्।'
लक्ष्मीपूजाकै अवसरमा चौधरी ग्रुपले विशेष पार्टीसमेत आयोजना गर्दै आइरहेको छ।
गोल्छा अर्गनाइजेसनमा पनि लक्ष्मीपूजाको विशेष कार्यक्रम हुन्छ।उद्योगी शेखर गोल्छाले नागपोखरीस्थित आफ्नो अफिसलाई तिहारको थिममा सजाएका छन्।काठमाडौँमा कार्यरत सम्पूर्ण कर्मचारीलाई यही अफिसमा भेला गरेर लक्ष्मीपूजाको विशेष कार्यक्रम आयोजन गर्ने गरिएको बताउँदै गोल्छा भन्छन्, 'यो दिन कर्मचारीका लागि प्रतिष्ठानका तर्फबाट उपहार प्रदान गरिन्छ।'
उद्योग–व्यवसायमा तीन दशक बिताएका गोल्छा आफूलाई व्यक्तिगत प्रयोजनका लागि थप पैसा कमाउने रुचि नभएको बताउँछन्। 'मलाई अब कुनै उद्योग खोल्दा कति नाफा हुन्छ भन्दा पनि त्यसबाट कति जनाले रोजगारी पाउँछन्, राज्यले कति कर पाउँछ ? भन्नेमा बढी चासो हुन्छ,' गोल्छा भन्छन्।
पैसालाई आदर गर्न सक्दा र आम्दानी तथा खर्चका बीच समझदारी र सन्तुलन कायम गराउन सक्दामात्र धन आर्जन गर्न सकिने उनी बताउँछन्।

उद्योगी शशिकान्त अग्रवाल संसारमा सबैभन्दा बढी 'सक्सेस रेट' भएको पेशा नै 'बिजनेस' भएको उल्लेख गर्दै धनसँग उठबस गर्नेले जोखिम लिन सक्नुपर्ने बताउँछन्।'लक्ष्मीपूजा एउटा विश्वास हो,' अग्रवाल भन्छन्, 'पूजा गरेर मात्र धन आर्जन हुने होइन। भगवान्को डर भएपछि मानिस नराम्रो काम गर्न डराउँछ।त्यसैले यस्ता पूजाआजालाई पनि अपनाउनुपर्छ।'
उद्योगी पशुपति मुरारका 'हरहिसाबमा कडा र आफ्नो व्यापारको पोजिसनमा हमेशा ध्यान दिने व्यवसायी नै सफल हुन सक्ने' बताउँछन्।तलमाथि वा दायाँबायाँ गरेर कमाएको धन दिगो हुन नसक्ने भन्दै उनी स्वच्छ तरिकाले धन आर्जन गर्नुपर्ने बताउँछन्। निरन्तरको मेहनत र लगनले व्यवसायमा सफलता हात पार्न सकिने उनको विश्वास छ। 'लक्ष्मीपूजा गरेर मात्र धन आर्जन हुने होइन,' उनी भन्छन्, 'यो एउटा विश्वास हो ।'

धन आर्जनसँगै असीमित दायित्व थपिने बताउँछन्, उद्योगी पवन गोल्यान।भन्छन्, 'बढी धन आर्जनसँगै दायित्व पनि असीमित रूपमा थपिन्छ।त्यसैले धेरै धनले सुख मात्र होइन, दुःख पनि दिन्छ ।' समृद्धिसँगै निन्द्रा कम हुँदै जाने भएकाले पैसाको पछाडि दौडँदा स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्ने गोल्यान बताउँछन्।

Related Posts: