प्रदेश नम्बर दुई को एक मात्र महानगर वीरगन्जको नतीजा आफनो दलको पोल्टामा पार्नका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले अन्तिम कसरतमा लागेका छन्। स्थानीय तह निर्वाचनको मौन अवधी सुरु हुने अन्तिम दिन शुक्रबार दिनभर वीरगन्जमा दलका शीर्ष नेताहरु आफैं आएर चुनावीसभा र घरदैलो कार्यक्रम मार्फत मतदाताहरुलाइ रिझाउने प्रयास गरेका हुन्।
चुनावको प्रचारको अन्तिम कसरतमा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, संघीय समाजवादी फोरम नेपाल , नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी राजपा र नेपाल लोकतान्त्रिक फोरमले वीरगन्ज महानगरका विभिन्न स्थानमा शुक्रबार शीर्ष नेताहरुको सहभागीतामा चुनावी सभा र घरदैलो गरेर मतदाता रिझाउने प्रयास गरेका हुन्। योसँगै वीरगन्ज महानगरको चुनावी नतिजालाई हरेक राजनीतिक दलले प्रतिष्ठाको रुपम लिएका छन्।
शुक्रबार काँग्रेसले वीरगन्जको रातो बंगला दरबार परिसरमा आयोजना गरेको चुनावी सभालाइ पार्टी सभापति समेत रहेक प्रधानमन्त्री शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका शीर्ष नेताहरुले सम्बोधन गरे।
चुनावीसभा सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले मधेसको हितका लागि वकालत गर्ने दल काँग्रेस मात्रै भएको दाबी गरे। उनले भने, 'संविधानमा मधेसका मुद्दामा कांग्रेस मात्रै सकारात्मक अगुवाइ गरेको हो। बाँकी अरु दलले खुट्टा तान्ने काम गरेको सबैलाई थाहैछ।' उनले काँग्रेसले संविधान संशोधनका लागि अगुवाइ गरेको तर एमालेको विरोध र असहयोगका कारण संविधान संशोधन तत्काल हुन नसकेको आरोप लगाए।
असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचन तथा मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनबाट कांग्रेसले बहुमत ल्याई संविधान संशोधन गरेर मधेसलाई अधिकार सम्पन्न गराउने आश्वासन प्रधानमन्त्री देउवाले दिए।
मधेसलाई अधिकार सम्पन्न बनाउने एक मात्र पार्टी नेपाली कांग्रेस नै भएको भन्दै देउवाले भने, 'मधेसले अधिकार नपाएसम्म कांग्रेसले विश्राम लिदैन।'आगामी चुनावलाइ नै लक्षित गरेर काँग्रेसका केन्द्रिय सदस्यहरु शेखर कोइराला, अर्जुन नरसिंह केसी, रामशरण महत , प्रकाश शरण महत , गगन थापा , चन्द्र भण्डारी , शंकर भण्डारी, प्रदीप पौडेल नेविसंघका केन्द्रिय अध्यक्ष नयन सिंह महर , नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जीतजंग बस्नेत लगायतका एक दर्जन नेताहरुले एक साता सम्म वीरगन्ज महानगरका टोल टोलमा पुगेर घरदैलो र चुनावी कोणसभा पनि गरेका थिए।
यस्तै शुक्रबार नै साँझ वीरगन्जमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभालाइ पार्टी अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गरे।चुनावीसभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले भने,' मधेसको पहिचान र अधिकारको मुद्दा उठाउने पहिलो दल माओवादी केन्द्र हो। साथै मधेसको मुद्दामा पहिलो पटक साथ र आवाजसँगै संघर्षका लागि समावेशीताको पहल गरेको हो।'
उनले भने, 'वीरगन्ज महनगरको चुनावी नतिजाको विषय प्रचण्डसँग जोडिएको छ, वीरगन्जमा माओवादीका उम्मेदवारको जित भनेको प्रचण्डको जित हो, हार भयो भने त्यो उम्मेदवारको हार हुदैन प्रचण्डको हार हुन्छ।' वीरगन्ज महानगर प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका र मुलुककै आर्थिक राजधानीका रुपमा परिचत शहर भएकाले यस्को विकास माओवादी केन्द्रबाट मात्रै सम्भव रहेको दाहालले बताए।
वीरगन्ज महानगरको नेतृत्व आफनो दलको पक्षमा पार्ने उदेश्यले भदौ १७ गते वीरगन्जमै माओवादी केन्द्रको केन्द्रिय सचिवालय नै बैठक बसेको थियो। सचिवालय बैठकमा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ, अमीक शेरचन , राम बहादुर थापा बादल ,मातृका यादव , हितराज पाण्डे , गोपाल किराँती, दिनानाथ शर्मा ,वर्षमान पुन ,महेश्वर दाहाल ,पार्टीकी प्रवक्ता पम्फा भुषाल सहितका नेताहरुको सहभागीता थियो।
यस्तै वीरगन्जमा बलियो जनाधार मानिएको फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव पनि आसन्न स्थानीय तहकै निर्वाचनलाइ लक्षित गरेर दुइ साता यता वीरगन्जमा तीन पटक आएर महानगरको टोल टोलमा चुनावी सभा र कोणसभा गरेर फर्किएका छन्।बिहिबार मात्रै उनले वीरगन्जको बगहीमा आयोजित रात्री चुनावी सभालाई सम्बोधन गरेका थिए। शुक्रबार वीरुगन्जको विभिन्न २० स्थानमा फोरम नेपालले चुनावी कोणसभा पनि गरेको थियो।
यस्तै शुक्रबार राष्ट्रिय जनताका पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारी पनि वीरगन्ज आएर मतदाताहरुको घरदैलोमा पुगेर आफना दलका उम्मेदवारलाइ मत मागेका थिए। यस्तै नेपाल लोकतान्त्रिक फोरमका केन्द्रिय अध्यक्ष विजयकुमार गच्छदार पनि मनोनयन दर्ताको भोलि पल्ट भदौ २२ गते वीरगन्ज आएर चुनावी कोणसभा र घरदैलो गरेर फर्किएका थिए।
काँग्रेस, माओवादी केन्द्र , फोरम नेपाल , राजपा , लोकतान्त्रिक फोरम हरेक दलका शीर्ष नेताहरु आफनो दलका उम्मेदवारको पक्षमा जनमत बटुल्न वीरगन्जमा आए पनि एमालेका अध्यक्ष ओली भने स्थानीय तहको निर्वाचनको लागि आफनो दलको प्रचार प्रसार गर्न वीरगन्ज आएनन्।
छिमेकी जिल्ला बाराको जितपुर सिमरा उप-महानगरपालिकामा शुक्रबार चुनावी सभालाइ ओलीले सम्बोधन गरेपनि वीरगन्जमा भने उनि आएनन्।वीरगन्जमा ओली नआएपनि एमालेका वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष बामदेव गौतम, उपाध्यक्ष भीम रावल, महासचिव इश्वर पोख्रेल, उपमहासचिव विष्णु पौडेल, सचिव योगेश भट्टराइ लगायतका शीर्ष नेताहरु भने एक महिना यताको अवधीमा वीरगन्जमा आएर आफना उम्मेदवारका लागि मतदाताको घरदैलो मै पुगेर मत मागेका थिए।
प्रदेश नम्बर २ को निर्वाचनमा सबै राजनीतिक दलका शीर्ष नेताहरुले प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्जलाइ प्रतिष्ठाको विषय बनाएर चुनावी परिणाम आफनो पक्षममा पार्न भरमग्दुर प्रयास गरेपनि प्रदेश नम्बर २ को प्रादेशीक राजधानी वीरगन्जलाइ नै बनाउने सवालमा भने कुनै पनि दलका नेताले खुलेर बोलेका छैनन्।
प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचन हुने तय भए लगत्तै यो प्रदेशको प्रादेशीक राजधानी वीरगन्ज र जनकपुर मध्ये कुनलाइ बनाउने भनेर बहश चल्दै आएको छ। तर वीरगन्जमा भएका चुनावी सभा र कार्यक्रमहरुमा राजनीतिक दलका शीर्ष नेताहरुले प्रादेशीक राजधानीका विषयमा मौन बसे।
आसन्न निर्वाचनका लागि वीरुगन्ज महानगरमा फोरम नेपालले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा वीरगन्ज महानगरलाइ प्रादेशीक राजधानी बनाउनका लागि पहल गर्ने उल्लेख छ।तर भदौ २२ गते वीरगन्जमै आयोजित पत्रकार सम्मेलनमा फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले भने प्रादेशीक राजधानी वीरगन्ज वा जनकपुर मध्ये कुनलाइ बनाउने विषय अहिलेका लागि सान्र्दभिक नभएको भन्दै पन्छिएका थिए।
प्रदेशसभाको निर्वाचन पछि बस्ने प्रदेशसभाको बैठकले नै प्रादेशीक राजधानीका विषयमा निर्णय गर्ने भएकाले अहिले नै हतार नगर्न उनको सुझाव थियो। उनले वीरगन्ज प्रदेशको मात्र नभइ मुलुककै आर्थिक राजधानीको रुपमा परिचित भएको बताएका थिए।
यस्तै भदौ १७ मा वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रादेशीक राजधानीका विषयमा खुलेर बोल्न चाहेनन्। यस्तै नेपाली काँग्रेसका पार्टी केन्द्रिय सभापति सहित अधिकांश शीर्ष नेताहरु वीरगन्जमा आएर चुनावी भाषणमा आफना पार्टीका अनेकन एजेण्डाहरु सार्वजनिक गरेपनि उनिहरु मध्ये कसैले पनि प्रादेशीक राजधानी वीरगन्जलाई बनाउने विषयमा एक शब्द पनि बोलेनन्।
गोरो हुन मन छ भने खानुहोस् यी १० खानेकुरातर लामो समयसम्म यस्ता सामानहरु प्रयोग गर्दा हाम्रो स्किन ड्यामेज हुन सक्छ । यसका साथै यसले छालामा क्यान्सर हुने सम्भावना पनि बढ्छ ।त्यस कारण गोरो र सु…Read More