श्रावण १३, २०७४- इलाम चुलाचुली–२ स्थित चाँजु खोलाको बीचमा बनाइएको झोलुंगे पुल उद्घाटन नहुँदै भत्किएको छ । वैशाख अन्तिम साता निर्माण सम्पन्न भएको पुल दुई महिनामै भत्किएपछि स्थानीय आक्रोशित छन् । चुलाचुलीमा सानाठूला करिब एक दर्जन खोला छन् तर कुनैमा पुल छैन । बासिन्दा कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चाँजुमा बल्लतल्ल बनेको पुल पनि भाँचिएपछि उनीहरु आक्रोशित भएका हुन् । ‘योभन्दा हद हुने ठाउँ छैन,’ चेतन आंथुपोले भने, ‘एक त खोलाको बिचमा पुल बन्यो । त्यो पनि एकैचोटिको बाढीले भत्कियो ।’ सरकारी पक्षको लापरबाहीले गर्दा चुलाचुलीवासीले पुल पाएर पनि गुमाउनुपरेको उनले बताए ।