आर्यन र केकी उत्कृष्ट

भिडियो सहित हेर्नुहोस !
Advertisement


असार १९, २०७४- साढे दुई दर्जन नेपाली कलाकार झिकाएर बेलायतमा पहिलो पटक आयोजना गरिएको फिल्म अवार्ड कार्यक्रममा आर्यन सिग्देल र केकी अधिकारी उत्कृष्ट अभिनेता/अभिनेत्री घोषित भएका छन् । स्थानीय आयोजक थर्ड आईले बक्स अफिस इन्टरनेसनल ग्रुपसँगको सहकार्यमा शनिबार अल्डरसटको एम्पायर हलमा सम्पन्न गरेको दसौं बक्सअफिस फिल्म फेयर अवार्डमा आर्यन फिल्म ‘होमवर्क’ बाट उत्कृष्ट छानिएका हुन् भने केकीले ‘लभ सासा’ का लागि उक्त अवार्ड जितेकी हुन् ।
व्यवस्थापन पक्ष फितलो देखिए पनि उत्साहजनक दर्शक सहभागितामा सञ्चालित उक्त अवार्ड कार्यक्रममा गत वर्ष प्रदर्शनमा आएका नेपाली फिल्मको मूल्यांकनका आधारमा चार दर्जन विधामा अवार्ड वितरण गरिएको हो । नवनिर्देशकको अवार्ड भने नरेशकुमार केसीले ‘डाइङ क्यान्डल’ बाट हत्याए । त्यसैगरी उत्कृष्ट फिल्म ‘वीर विक्रम’ बाटै मिलन चाम्स निर्देशकमा विजयी ठहरिए ।
त्यसैगरी, शृंगारमा सरोज पाण्डे (पुरानो डुंगा), कला निर्देशक आशिष दाहाल र कसम नेपाल (जंगे), वेशभूषा उत्तम बनेपाली (के म तिम्रो होइन र) तथा ध्वनि मिश्रणमा सुनयमान श्रेष्ठ (छक्का पन्जा) बाट विधागत उत्कृष्ट चुनिए । पाश्र्व संगीतमा शैलेश श्रेष्ठले ‘गाजलु’ बाट अवार्ड जित्दा कलर करेक्सनमा सोही फिल्मबाट राजेन्द्र मोक्तान भाग्यमानी ठहरिए ।
उत्कृष्ट भीएफएक्सका लागि अनन्त घिमिरे (द विनर) लाई अवार्ड दिइँदा खलनायकका लागि अर्पण थापा (वीर विक्रम) ले प्रतिस्पर्धीलाई पछि पारेका थिए । हास्य कलाकारको विधाका लागि भने ‘छक्का पन्जा’ का केदार घिमिरे र बाल कलाकारमा ‘छाया’ का साइव्रत आचार्यको पोल्टामा अवार्ड गएको हो ।
नृत्य निर्देशक विक्रम स्वाँरले ‘लुट २’ बाट अवार्ड जित्दा पटकथामा ‘छक्का पन्जा’ ले दीपकराज गिरीलाई अवार्ड दिलायो भने सोही फिल्मबाट दीपकले नै संवादमा पनि अवार्ड जिते । उत्कृष्ट कथाका लागि भने ‘लालजोडी’ बाट लक्ष्मण सुवेदी अब्बल ठहरिए । ‘छक्का पन्जा’ ले नै सम्पादक विधामा विपिन मल्ल, ‘वीर विक्रम’ ले छायांकनमा रामकुमार केसी, ‘जय परशुराम’ ले द्वन्द्व निर्देशनमा एनबी महर्जनलाई अवार्ड दिलायो । गीत, संगीतसहित आयोजना गरिएको कार्यक्रममा चरित्र अभिनेत्रीमा गौरी मल्ल (गाजलु), चरित्र अभिनेता माओत्से गुरुङ (पुरानो डुंगा) ले अवार्ड पाउँदा सहअभिनेता, सहअभिनेत्रीको अवार्ड क्रमश: सलोन बस्नेत (गाजलु) र दिया पुन (वीर विक्रम) ले चुमेका थिए । उनै दियाले सोही फिल्मबाट नवनायिकाको अवार्ड पनि पाइन् भने उत्कृष्ट नवनायक आर्यन अधिकारी (के म तिम्रो होइन र ?) बने । बेलायतमै छानिएको संगीत अवार्डअन्तर्गत उत्कृष्ट गीतकार शान्तिप्रिय, संगीतकार राजनराज शिवाकोटी, गायिका अन्जु पन्तले फिल्म ‘छक्का पन्जा’ बाट अवार्ड जितेका थिए भने गायकमा ताराप्रकाश लिम्बू उत्कृष्ट ठहरिए । त्यस्तै, आयोजक संस्था नेपालको तर्फबाट पनि पपुलर अवार्ड वितरण गरिएको थियो । जसमा उत्कृष्ट फिल्म स्टुडियो, पोस्टर डिजाइन, निर्माण नियन्त्रक, प्रोमो, वितरकदेखि डिजिटल कारोबार, सिनेमा हल, सक्रिय संघसंस्था, अवार्ड आयोजकजस्ता विधा पनि समेटिएका थिए । सोही खण्डतर्फ विशेष फिल्ममा ‘तीन घुम्ती’ लाई अवार्ड दिइँदा सर्वश्रेष्ठ कलाकारका लागि ‘लालजोडी’ का ज्योति काफ्ले र सर्वश्रेष्ठ नायक/नायिकामा क्रमश: निखिल उप्रेती र आयुष्मा कार्की (लाल जोडी) लाई अवार्ड दिइयो । निर्मातामा सन्तोष सेन, निर्देशकमा दीपाश्री निरौला र लाइफटाइम अचिभमेन्टका लागि दीपक क्षत्रीलाई अवार्ड दिइएको थियो । पत्रकारिता युवा प्रोत्साहन पुरस्कार जीवन पराजुली र पत्रकारिता नगद सम्मान श्याम अर्याल तथा विशेष सम्मान सुन्दरलाल श्रेष्ठलाई दिइएको थियो ।
कार्यक्रममा स्थानीय र नेपालबाट आएका आर्यन सिग्देल, करिश्मा मानन्धर, केकी अधिकारी, वर्षा सिवाकोटी, सलोन बस्नेत, अनुपविक्रम शाही, दिया पुन, नम्रता योगी, कुशल थापालगायत कलाकारले विभिन्न प्रस्तुतिमार्फत अवार्डको रौनक बढाएका थिए । बलिउडकी लोकप्रिय गायिका सञ्जीवनी र गायक आनन्द कार्कीको संगीतले हल गुञ्जायमान रहयो । सितु खरेल, शर्मिला बर्देवा, शिखर सन्तोषले पनि गाएका थिए । आनन्द र सञ्जीवनीको युगल गायनले समारोह रोमाञ्चक बनेको थियो । कोसेली परिवार यूकेको सामूहिक नृत्यबाट कार्यक्रम सुरु भएको थियो ।
नेपाली राजदूत दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहेको उक्त समारोहमा वरिष्ठ सञ्चारकर्मी सुमन खरेलले कार्यक्रम सञ्चालन गर्दै नेपाली फिल्म इतिहासबारे जानकारी दिएका थिए ।

Related Posts: