सामान्यतया एउटा मारुती भ्यानमा कति मानिस अटाउलान् ? ५ देखि ८ जना यसको सहज उत्तर आउन सक्छ । तर धनकुटास्थित एक निजी स्कुलले विद्यार्थी ओसारपसार गर्न प्रयोग गरेको ५ जना क्षमताको भेनमा २१ बालबालिका कोचाकोच गरेर राखिएको पाइएको छ ।
सदरमुकामस्थित तमोर भ्याली बोर्डिङ स्कुलले प्रयोग गर्दै आएको को१च ७३११ नम्बरको मारुती भ्यानमा क्षमताभन्दा झण्डै चौगुना बढी बालबालिका राखेर दैनिक विद्यायल ल्याउन र घर लैजान प्रयोग गरिँदै आएको छ । अभिभावक तथा विद्यार्थीहरुको गुनासोको आधारमा गरिएको निगरानिका क्रममा हुलाकटोलमा भेटिएको उक्त सवारी साधनमा अधिकांसले आफ्नो काखमा अन्य दुईलाई बोकिरहेको पाइयो । चालकसंगैको अगाडीको सीटमा चार जना राखिएको थियो । चालकले स्टेरिङ नै कठिनसंग घुमाइरहेको देखिन्थ्यो । ठुला कक्षाका विद्यार्थीले तीनजनालाई समेत काखमा राखेका थिए । अधिकांस बालबालिका चेप्टिएर कष्टसंग बस्ने गरेका छन् । कक्षा ३ मा अध्ययनरत छात्र गौरव कटेलले उनका साथीलाई काखमा बोकेर कष्टसंग यात्रा गरिरहेका थिए । यसैगरी एलकेजीमा अध्ययनरत ४ वर्षिय विशेक थुलुङ चेपिएर कष्टसंग बसिरहेका थिए । उनले आफुलाई गाडीमा सधैं यस्तै दु:ख हुने गुनासो गरे । उक्त विद्यालयका ३ कक्षाकी छात्रा सुमित्रा डंगोलले पनि आफ्नो काखमा अर्को साथीलाई राखेकी थिइन् । ‘गाडीमा धेरै जना साथी अटाउनु पर्ने भएकोले प्रायजसो यस्तै भीड हुन्छ,’ उनले भनिन्, ‘खुकुलो गरेर बस्न पाए हुन्थ्यो भन्ने लाग्छ ।’
यसैगरी ६ कक्षामा अध्ययनरत अर्की छात्रा अंकिता रायाले पनि सहज यात्रा गर्न पाए हुने बताइन् । च्यापिएर बसेका बालबालिका असिनपसिन भएका थिए । भ्यानका चालक प्रकाश नेपालीले बस बिग्रिएकोले भ्यान प्रयोग गर्नुपरेको बताए । केही वर्षदेखि भ्यानबाटै बालिबालिका ओसारपसार गर्दै आएको विद्यालयले पछिल्लो समय स्कुल बस ल्याएको थियो । तर छोटै अवधिमा पुन: उक्त बस फिर्ता गर्नु परेको चालकले बताए । विद्यालयका प्रिन्सिपल दुर्गा लुईटेलले यो अवस्था लामो समय नरहने दाबी गरे । उनले अस्पताल चोकसम्म २१ जना बालबालिका राखिने गरेको स्वीकार गरे । ‘अस्पताल चोकसम्म २१ जना चढ्छन्,’ उनले भने, ‘त्यस भन्दा माथि १३ जना मात्रै बालबालिका राखिने गरेको छ ।’
विद्यालयबाट दैनिकरुपमा कम्तिमा १० किलोमीटरको दुरी आसपासका बालबालिकालाई नियमित सेवा दिंदै आएको जनाइएको छ ।