असार १९, २०७४- हिन्दु राज्यको वकालत गर्ने दल राप्रपाका मुस्लिम समुदायका उम्मेदवार झापाको कचनकवल गाउँपालिका अध्यक्षमा विजयी वनेका छन् ।
अन्जार आमलले नेपाली कांग्रेसका कालेन्द्रप्रसाद राजवंशीलाई ४६३ मतले हराए । विगतमा यो क्षेत्र नेपाली कांग्रेसको ‘आधार क्षेत्र’ हो । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको निर्वाचन क्षेत्र नम्वर ३ मा पर्ने यो क्षेत्रमा आलमले ५ हजार ८ सय १६ मत प्राप्त गरेका छ । उपाध्यक्षमा पनि राप्रपाकै निम्सरी राजवंशीले वाजी मारिन् । उनले कांग्रेसकै गीता ओडारीलाई ७ सय २ मतले हराइन् । निम्सरीले ५ हजार ७ सय ९२ मत पाएकी थिइन् । ‘झापाको कर्णाली’ को रुपमा रहेको यो क्षेत्रको समग्र विकासमा कांग्रेस र एमाले जस्ता ठूला दलहरुले चासो नदेखाएको फाइदा राप्रपाले उठाएको देखिन्छ । कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा आलमले २०, २५ वर्षदेखि कांग्रेस र एमालेले जनताले निरन्तर पत्याए । तर, त्यसवापत केही पाएनन् । आलमले भने,‘यसपटक हामीलाई जनताले चुनेका छन् ।’ उनले ५ वर्षभित्र कचनकवल गाउँपालिकालाई ‘भ्रष्टाचारमुक्त’ गाउँपालिकाको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
आलमले पिछडिएका वर्ग र समुदायको चौतर्फी विकासमा आफू केन्द्रित हुने दावी गरे । ‘पूर्वाधार विकास सँगसँगै पिछडिएका आदिवासी, जनजाति र दलित समुदायको चौतर्फी विकासमा केन्द्रित हुनेछु,' आलमले भने, ‘जनताले काम गर्ने म्यान्डेट दिएका छन्, गरेर देखाइदिन्छु ।’ उपाध्यक्षमा विजयी राजवंशीले आदिवासी र दलित महिलाहरुको हकहितमा काम गर्ने जनाइन् । भनिन्,‘यो क्षेत्रमा दलित र पिछडा वर्गको अवस्था दयनिय छ, उनीहरुको जीवन स्तर उकास्ने काम गर्छु ।’
अध्यक्षमा निर्वाचित आलम २०५४ सालदेखि राप्रपामा आवद्ध छन् । उनी यसअघि जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएका थिए । हज कमिटीका केन्द्रीय सदस्य समेत रहेका ४५ वर्षीय आलम केही समय अघि मुस्लिम आयोगका सदस्य थिए । गाउँपालिकामा टिकट पाएपछि राजीनामा दिएर आएका हुन् ।
उपाध्यक्षमा निर्वाचित राजवंशीको पार्टीगत आधार नेपाली कांग्रेस हो । उनी कक्षा ८ मा पढ्दै गर्दा नेपाल विद्यार्थी संघमा आवद्ध भएकी थिइन् । २०५६ मा एसएलसी सकेर अध्ययनका लागि भद्रपुरको मेची क्याम्पस भर्ना भइन् । मेची क्याम्पसमा नेपाल विद्यार्थी संघको कोषाध्यक्षको भूमिका निर्वाह गरेकी उनी २०७० को दोस्रो संविधान सभा निर्वाचन ताका मात्रै राप्रपामा आवद्ध भएकी हुन् । राप्रपाकी जिल्ला सदस्य राजवंशी दर्जनौ संघ संस्थामा आवद्ध छिन् । कचनकवलमा अध्यक्ष उपाध्यक्षसहित २२ प्रतिनिधि जितेको छ । मुलुककै होचो भूभाग कचनकवलबाट राप्रपाले विजय सुरुआत गरेकोमा राप्रपाका स्थानीय कार्यकर्ता उत्साहित देखिन्छन् । राप्रपाका स्थानीय नेता रवि ओझाले भने,‘राप्रपाले फेदवाट विजय सुरुवात गरेको छ । यो यात्रा अव सगरमाथा पुगेर मात्रै टुंगिने छ ।’
राप्रपाले कचनकवलसँगै हल्दीवारी गाउँपालिकामा पनि जितेको छ । हल्दीवारीमा राप्रपाका युवा नेता रविन्द्रप्रसाद लिङदेनले एमालेकी मन्जु सिटौलालाई ४ सय मतले हराए । लिङदेनले ३हजार ९ सय ४३ मत पाए । निकटतम प्रतिद्वन्द्वी सिटौलाले ३ हजार ५ सय ४३ मत पाइन् । उपाध्यक्षमा एमालेका डम्बर गिरी विजयी भए । उनले ४ हजार ३ सय ८६ मत पाए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चन्द्रकला राईले २ हजार७ सय ४७ मत पाइन् । हल्दीवारीको अध्यक्षमा कसलाई उम्मेदवार वनाउने भन्ने विषयमा एमालेभित्र तीव्र विवाद थियो । केपी ओली पक्षधरले डम्बर गिरीलाई अध्यक्षको उम्मेदवार बनाउनु पर्ने माग गरेका थिए । तर, माधन नेपाल पक्षधर भनिएकी सिटौलालाई अध्यक्ष वनाउने निर्णय भएपछि केही समय पहिला विर्तामोडको एमाले पार्टी कार्यालयमा हल्दीबारीका एमाले समर्थकले सामान्य तोडफोड पनि गरेका थिए । ‘एमाले भित्रको विवादका कारण राप्रपालाई जित्न सहज भयो,' राप्रपाका जिल्ला सचिव केशव ओझाले भने ।
राप्रपाले जितेका कचनकवल र हल्दीवारी दुवै गाउँपालिका कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा पर्छन् । उनको गृहनगर भद्रपुरमा पनि एमालेको अग्रता छ । सिटौलाले आफ्नो पुराना आधार क्षेत्र लगभग गुमाएका छन् । ‘यो क्षेत्रमा नेपाली कांग्रेसप्रति जनताको वितृष्णा जागेको देखिन्छ,' राप्रपाका केन्द्रीय महामन्त्री राजेन्द्र लिङ्देनले भने,‘त्यसको फाइदा हामीले उठाउन सफल भयौं ।’
पदीय मर्यादाको अपमान* भारतका लागि राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कपिलवस्तु १ बाट कांग्रेसबाट सिफारिस भएपछि पदबाट राजीनामा दिए । मन्त्रिप…Read More