नेपाली भूमिरक्षक देवनारायण आठ दिनपछि भारतीय जेलबाट मुक्त

भिडियो सहित हेर्नुहोस !
Advertisement


राजविराज: मानव अपहरण तथा शरीर बन्धक मुद्दा लगाई भारतको वीरपुर कारागारमा हिरासतमा राखिएका भुमिरक्षक देवनारायण यादव र उनका छोरा अजय निर्दोष प्रमाणित भएका छन्।भारत वीरपुर न्यायालयले सप्तरीको कोइलाडी तिलाठी गाउँपालिका १ का यादव बुवाछोरालाई शनिबार निर्दोष प्रमाणित गरेपछि उनीहरु आठ दिनको कष्टकर कारागार बसाईबाट मुक्त भएका हुन्।

न्यायालयका न्यायिक दण्डाधिकारी लालबहादुर प्रसादको इजलासले अपहृत भनिएकी भारतीय युवती ज्योती साह स्वयं न्यायालयमा उपस्थित भई आफु अपहरणमा नपरेको र राजिखुशीले अजयसँग प्रेम विवाह गरेको बयान दिएकाले अपहरणको मुद्दा नलाग्ने ठहर गर्दै रिहाईको आदेश जारी गरेको हो।
अपहृत भनिएकी ज्योतिले बयानको क्रममा पुरानै कुरा दोहोर्‍याउँदै आफ्नो कसैले अपहरण नगरेको र अजयसँग प्रेम बसेकाले घरबाट भागेर एक मन्दिरमा गई स्वेच्छाले प्रेम विवाह गरेको बताएकी थिइन्।
भारतीय प्रहरीले कुनौली बजारका संजिबको उजुरीका आधारमा उनकी बहिनी ज्योतिको अपहरण आरोपमा देवनारायण र उनका छोरा अजयलाई पक्राउ गरी मुद्दा चलाएको बताउँदै आएको थियो।
यादव परिवारका सदस्यहरुले भने भारतीय पक्षले दशगजा क्षेत्रमा एकतर्फी रुपमा बाँध्न थालेको बाँध देवनारायणको अगुवाईमा तिलाठीबासीले गत वर्ष २०७३ साउन १३ गते भत्काएकाले नै दुख दिन झुठ्ठा मुद्दा लगाई पक्राउ गरेको बताउँदै आएका छन्।
कारागारबाट मुक्त भएपछि देवनारायणले भारतीय युवती अपहरणको बहानामा मलाई तर्साउन, डराउन खोजिएको बताए। उनले उतिबेला दशगजामा बाँध बाँध्न खोज्ने भारतियहरुविरुद्ध प्रतिकार गर्दै मैले निर्वाह गरेको भूमिकालाई लिएर रिसइवी साँध्ने र तर्साउने उद्देश्यले नै नियोजित ढंगले दुःख दिने प्रयास भएपनि आफ्नो आत्मबल झनै बढेको बताए।

Related Posts: