कार्तिक ६, २०७४-युवा स्पिनर सन्दीप लामिछाने र अलराउन्डर आरिफ शेखलाई अन्तत: एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि ‘ए’ समूहमा राखिएको छ । डिसेम्बरमा हुने ईपीएलको सोमबार अक्सन हुँदैछ । नेपाली राष्ट्रिय टोलीबाट प्रभाव पार्दै आए पनि यी दुवै खेलाडी उच्च श्रेणीको ‘ए’ समूहमा थिएनन् ।
ईपीएल आयोजक ईपीएल प्राइभेट लिमिटेडले गरेको ‘ए’ वर्गीकरणमा पर्न नेपाली खेलाडीले राष्ट्रिय टोलीबाट कम्तीमा ३ वर्ष खेलेको हुनुपर्ने नियम थियो । सोही कारण सन्दीप र आरिफ यो वर्गीकरणमा परेका थिएनन् ।
सन्दीपले लगातार रूपमा राष्ट्रिय टोलीबाट प्रभावशाली प्रदर्शन गर्दै आएको र आरिफ पनि पछिल्लो तीन वर्ष राष्ट्रिय टोलीबाट आउने जाने क्रम रहेको हुँदा उनीहरूलाई ‘ए’ श्रेणीमा राखिएको आयोजकले आइतबार जनाएको छ । सन्दीपले २०१५ को अप्रिलमा नामिबियासँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलबाट तथा आरिफले २०१५ को जनवरीमा विश्व क्रिकेट लिग डिभिजन २ मा राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए ।
फ्रेन्चाइज टिमले ‘ए’ समूहमा रहेका ३ देखि ५ खेलाडी लिन पाउने छन् । यस समूहमा पर्ने खेलाडीको भाउ अक्सनमा १ लाखबाट सुरु हुनेछ र अधिकतम १ लाख ७५ हजार लगाउन पाउनेछन् । यसअघि नै सहभागी ६ टोलीका मार्की खेलाडी तय भइसकेका छन् । उनीहरूले न्यूनतम २ लाख पारिश्रमिक पाउँदै छन् । सोमपाल कामी काठमाडौं किंग्स ११, ज्ञानेन्द्र मल्ल ललितपुर पेट्रिएट्स, पारस खड्का विराटनगर वारियर्स, शरद भेषावकर भैरहवा ग्लाडिएटर्स, शक्ति गौचन पोखरा राइनोज र दीपेन्द्रसिंह ऐरी चितवन टाइगर्सको मार्की खेलाडीका रूपमा छन् ।
अक्सनमा ९० खेलाडीमा भाउ लाग्ने आयोजकले जनाएको छ । आयोजकले यसअघि अक्सनमा ७० खेलाडी राख्ने बताएको थियो । फ्रेन्चाइज टिमले अक्सनमा ९ लाख यसअघि खर्च गर्न पाउने भनिएकोमा त्यसलाई बढाएर १० लाख रुपैयाँ पुर्याइएको छ ।