आर्सनलको सानदार

भिडियो सहित हेर्नुहोस !
Advertisement


कार्तिक ६, २०७४-इङलिस प्रिमियर लिगअन्तर्गत आइतबारको खेलमा आर्सनलले एभरटनलाई ५–२ ले पराजित गर्‍यो ।
घरेलु टोली एभरटनले वायन रोनीको गोलमा १२ औं मिनेटमा अग्रता लिए पनि पहिलो हाफको अन्त्यतिर नाचो मोनरियालले बराबरी गोल गरे । दोस्रो हाफमा आर्सनल थप आक्रामक रूपमा प्रस्तुत भएपछि एभरटन खेलमा पछाडि पर्‍यो । मेसुट ओजिलले ५३ औं मिनेटमा हेडरमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । ६८ औं मिनेटमा इड्रिसा गाना दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एभरटन थप संकटमा पर्‍यो । त्यसपछि एलेक्जेन्डर लाकाजेट र आरोन राम्जीले १–१ गोल थपे । ओउमार नियासेले इन्ज्युरी समयमा एभरटनका लागि सान्त्वना गोल गरे भने एलिक्स सान्चेजले अन्तिम मिनेटमा आर्सनलका लागि गोल थपे ।
शनिबार नवप्रवेशी हडर्सफिल्ड टाउनले म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्‍यो । जोसे मोउरिन्होको प्रशिक्षकत्वमा रहेको युनाइटेडको यो सिजनकै पहिलो हार हो । आरोन मोय र लौरेन्ट डेपोइट्रले गोल गरेपछि हडर्सफिल्डले सन् १९५२ यता म्यानचेस्टर युनाइटेडमाथि पहिलो जित दर्ता गर्‍यो । मार्कस रास्फर्डले दोस्रो हाफमा गोल गरे पनि युनाइटेडले नतिजा उल्टाउन सकेन ।
युनाइटेड पराजित भएको पूर्ण फाइदा छिमेकी म्यानचेस्टर सिटीलाई मिल्यो । सिटीले बर्नलीलाई ३–० ले पराजित गर्दै शीर्षस्थानमा पाँच अंकको अग्रता कायम गर्‍यो । सर्जियो अगुइरोले सुरुआती अग्रता दिलाउँदै सिटीका लागि सर्वाधिक गोलकर्ताको रेकर्ड पनि बराबरी गरे । अगुइरोसँगै एरिक ब्रुकले पनि सिटीका लागि १ सय ७७ गोल गरेका छन् । सिटीका लागि अन्य गोल लेरोय साने र निकोलास ओटामेन्डीको नाममा रह्यो ।
डिफेन्डिङ च्याम्पियन चेल्सीले वाटफोर्डलाई ४–२ ले पराजित गर्‍यो । पेड्रोको गोलमा अग्रता लिए पनि चेल्सी खेलको दोस्रो हाफमा पछाडि पर्‍यो । अब्दुलाए डुकुरे र रोबर्टो परेरको गोलमा वाटफोर्डले अग्रता लिएको थियो । तर वैकल्पिक खेलाडी मिसी बासुआइले हेडरमार्फत बराबरी गोल गरे । त्यसपछि सेजार एज्पिलिक्वेटा र बासुआइले खेलको अन्त्यतिर गोल गरेपछि चेल्सीले जित हात पार्‍यो ।
क्रेग सेक्सपियरको बर्खास्तीपछि कार्यवाहक प्रशिक्षक माइकल एप्पेल्टनले सम्हालेको लेस्टर सिटीले स्वान्सी सिटीलाई २–१ ले पराजित गर्‍यो । फेडेरिको फर्नान्डेजको आत्मघाती गोलमा अग्रता लिएको लेस्टरका लागि सिन्जी ओकाजाकीले अग्रता दोब्बर पारे । आल्फी मसनले स्वान्सीका लागि सान्त्वना गोल गरे । बर्नमाउथले स्टोक सिटीलाई २–१ ले पराजित गर्‍यो । उसको जितमा जुनियर स्टानिस्लास र एन्ड्रयु सरमनले गोल गरे । मिकेल मेरिनोको गोलमा न्युकासलले पुछारको क्रिस्टल प्यालेसलाई १–० ले हरायो । सोफियाने बुफालले ७० औं मिनेटमा साउथ ह्याम्पटनले वेस्ट ब्रुमलाई १–० ले हरायो ।

Related Posts: