भरतपुरमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि लम्बिएको विवाद अहिलेसम्म सुल्झिएको छैन् । चितवनको भरतपुर महानगरपालिका जस्तै प्रकरण धरान उपमहानगरमा पनि दोहोरिएको छ । घटनाको प्रकृति केही फरक भए पनि मतगणनालाई लिएर उत्पन्न विवाद सजिलै सल्झने देखिएको छैन् ।
४८ घण्टा बितिसके पनि धरानमा अबरुद्ध मतगणना अझै सुरु हुन सकेको छैन् । विवादको सुरुवात सोमबार साँझबाट भएको हो । एउटा दलको मत अर्को दलमा जोडिएको भन्दै विवाद उत्पन्न भएको हो । तर, विवाद सुल्झाउनुको साटो दलहरु पत्रकार सम्मेलन गरेर आरोप प्रत्यारोप गर्न व्यस्त छन् ।
सोमबार साँझ वडा नम्बर ९ र १० को मतगणना सकिएपछि विवाद उत्पन्न भएको थियो । मुचुल्का बनिसकेपछि सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले चेक गर्दा केही प्राविधिक त्रुटि भेटिएको थियो । संघीय समाजवादीका उम्मेदवार पारस काङमाङको चुनाव चिन्ह मसालमा परेको ३४ भोट त्रुटिबश मालेका उम्मेदवारको खातामा जोडिएको फेला परेको थियो । गणनामा त्रुटि गर्ने गणकहरु मनबहादुर कार्की र धनकुमार राईलाई निर्वाचन अधिकृतले हटाइसकेका छन् । तर, त्यसलगत्तै माओवादी केन्द्रले मतगणनामा धाँधली भएको आरोप लगाउँदै मतगणना बहिष्कार गर्ने निर्णय गर्यो ।
माओवादीले अहिले नयाँ शर्त राखेर बखेडा गरिरहेको छ । गणना भइसकेको १ देखि ८ वडामा फेरि गणना गर्नुपर्ने माओवादीको अडान छ । संघीय समाजवादीले चाहिँ आफूहरु अदालत जाने चेतावनी दिइसकेको छ । कांग्रेस पनि फेरि मतगणनाकै पक्षमा छ ।
तर, एमाले लगायतका दलहरु भने पुनः मतगणना गर्नुपर्ने पक्षमा छैन । मतगणनामा केही त्रुटि भए त्यही वडाको सच्याउनुपर्ने तर सबै वडामा मतगणना गर्न नपर्ने एमालेको तर्क छ ।
धरान उपमहानरमा एमालेले अग्रता लिइरहेको छ । संयोग कस्तो परेको छ भने भरतपुरमा पनि एमालेले नै अग्रता लिइरहेको थियो र विवाद गर्ने माओवादी नै थियो । धरानमा पनि त्यस्तै भएको छ । धरानमा एमालेले अग्रता लिइरहेको छ भने विवाद माओवादील्े सिर्जना गरिरहेको छ ।