नाख भद्दा देखियो ? अनुहारको बान्की मिलेन ? आफ्नो शरीरको कुनै अंगलाई सहि रुप दिनुपर्यो ? वा दुर्घटनामा गुमाएको अङ्ग जोड्नुपर्यो ? अहिले त्यसको विकल्प हो, प्लाष्टिक सर्जरी । धेरैलाई लागेको हुनसक्छ, प्लाष्टिक सर्जरी प्लाष्टिकद्वारा गरिने उपचार हो । तर, प्लाष्टिक सर्जरी भनेको छालालाई आवश्यकता अनुसार आकार दिनु हो । यसको ग्रीक भाषामा यस्तो अर्थ लाग्छ, मिलाउनु वा बनाउनु । प्लाष्टिक ग्रीक शब्द हो । मेडिकल इतिहासमा प्लाष्टिक सर्जरीको सुरुवात दोस्रो विश्वयुद्धबाट सुरु भएको हो । त्यसबेला घाइते सैनिकको अङ्ग जोड्न, बनाउन प्लाष्टिक सर्जरी गरिएको थियो ।
के हो प्लाष्टिक सर्जरी ? आफ्नै शरीरको खासगरी फिलाको मासु वा छाला निकालेर अन्य स्थानमा लगाउने काम हो, प्लाष्टिक सर्जरी । यो विधीलाई स्किन ग्राफि्टङ भनिन्छ । यसको उन्नत विधी भनेको सिलीकन इम्प्लान्ट हो ।
किन गर्ने ? १. प्लाष्टिक सर्जरीको सबैभन्दा ठूलो फाइदा भनेको दुर्घटनामा अङ्गभंग भएका वा आफ्नो अङ्ग गुमाएकाहरुको सहि उपचार हो । यस्तो उपचारपछि अङ्गलाई जोडिन्छ वा त्यस्तै बनाइन्छ ।
२. तेजाब लगायतले घाइते भएकाहरु यसबाट लाभान्वित हुन सक्छन् । ३. आफुलाई सुन्दर देखाउनका लागि प्लाष्टिक सर्जरीको उपयोग गर्न सकिन्छ । तर, सावधान हुनुहोस्
– प्लाष्टिक सर्जरीपछि यदि तपाईले चाहेजस्तै उपचार भएन भने चिकित्सकलाई कारबाही गर्ने कुनै विकल्प हुँदैन । त्यसैले सुरुमा योग्य एवं दक्ष चिकित्सक छनौट गर्नुपर्छ ।
– प्लाष्टिक सर्जरी गर्नुअघि यसबारे विस्तृत जानकारी लिनुपर्छ । राम्रो/नराम्रो सबै पक्ष हेर्नुपर्छ ।
– पर्याप्त समय लाग्न सक्छ, त्यसैले आफ्नो समय अनुकुल छ/छैन ? बुझ्नुपर्छ ।
– सर्जरीअघि चिकित्सक कति अनुभवी हुन् भन्ने कुरा पनि बुझ्नुपर्छ ।
– ध्यान राख्नुहोस् कि प्लाष्टिक सर्जरी कुनै मेकअप होइन, जसलाई उतार्न मिल्छ ।
– सर्जरी पछि लामो समय विश्राम लिनुपर्ने हुन्छ । त्यसैले उचित समयको व्यवस्था मिलाउनुहोस् ।
कुन अवस्थामा गर्ने ? शरीरको बाहिरी अंगहरु नमिलेको अवस्थामा मिलाउन प्लाष्टिक सर्जरी गरिन्छ । अहिले सौन्दर्यका क्षेत्रमा यसको व्यापक प्रयोग हुने गरेका छन् । माइकल ज्याक्सनले नमिलेको नाक मिलाउन पटक पटक प्लाष्टिक सर्जरी गरेको चर्चा चल्थ्यो । अहिले बलिउडकर्मीहरुले पनि प्लाष्टिक सर्जरीको साहारा लिने गरेको बताइन्छ । ओंठ, नाक, आँखा, स्तन आदिलाई आकर्षक आकार दिनका लागि प्लाष्टिक सर्जरी गरिन्छ । यद्यपी प्लाष्टिक सर्जरीको उपयोगिता यतिमा मात्र सीमित छैन । कुनै कारणबस वा जन्मजात अङ्गभंग भएकाहरुको अङ्गलाई सहि तरिकाले, सहि ठाउँमा जोड्न वा मिलाउनका लागि प्लाष्टिक सर्जरी गरिन्छ ।