हामी स्वस्थ्य रहन सब्जी सेवन गर्छौ । तर, बजारमा उपलब्ध धेरैजसो सब्जी विषाक्त हुन्छ, जसले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर गर्छ । यस्तो अवस्थामा किचेन गार्डेनको अवरधारणा राम्रो विकल्प हुनसक्छ ।
घरमा किचेन गार्डेन बनाउन सकिन्छ । यसका लागि प्रशस्तै जग्गा चाहिन्छ भन्ने छैन । सानो बार्दली, छत वा बगैंचा नै काफी छ । यी स्थानमा गमलामा सब्जी वा औषधिय महत्वको बिरुवा रोप्न सकिन्छ । थोरै सब्जी किन्नका लागि बजार पुगिरहनु पर्दैन । आफुले उत्पादन गरेको, विषादीरहित सब्जी खानुको छुटै स्वाद छ ।
औषधीय महत्वको विरुवा
सानो गमलामा तुलसी, घिउकुमारी, पुदिना, धनियाँ जस्ता औषधीय महत्वको बिरुवा रोप्न सकिन्छ । आफुले सेवन गर्ने चिया वा पानीमा पुदिनाको एक/दुई पात मिसाउनुपर्छ, स्वादिलो हुन्छ र त्यसमा औषधिय गुण पनि । त्यस्तै, घिउकुमारी स्वस्थ्य र सौन्दर्य दुबैको लागि प्रयोग गर्न सकिन्छ । पुदिना अचारको रुपमा प्रयोग गर्न सकिन्छ ।
विषादीरहित सब्जी
सानो गमलामा साग रोप्न सकिन्छ, गोलभेडा रोप्न सकिन्छ । खुर्सानी, सिमी, प्याज, लसुन, आलु पनि फलाउन सकिन्छ । आफैले उब्जनी गरेको खानेकुरामा विषाक्त हुने कुरै भएन । थोरै सब्जीको लागि बजार धाइरहनुपर्ने वाध्यता पनि हुँदैन ।
भान्सामा फोहोर काम लाग्ने
भान्सामा उत्पादन हुने फोहोर खासगरी सड्ने र गल्ने प्रकृतिका, अन्यत्र मिल्काउनु पर्दैन । जस्तो बासी खानेकुरा, सब्जीको बोक्रा, कुहिएको फलहरु मलको रुपमा प्रयोग गर्न सकिन्छ । यसले गर्दा घरको फोहोर त व्यवस्थापन हुन्छ नै, सब्जीलाई मल पनि ।
सक्रिय बनाइराख्छ
घरमै सानो करेसा बारी बनाएपछि काम गर्ने जाँगर चल्छ । कहिले गोडमेल त कहिले रोप्ने काममा लाग्न सकिन्छ । यसले शारीरिक सक्रियता पनि बढ्छ ।
केही टिप्स
– घरको पछाडिको भागमा पनि किचन गार्डेन बनाउन सकिन्छ, जहाँ राम्ररी घाम लाग्न सक्छ । दैनिक ५, ६ घण्टा घाम लाग्ने स्थानमा किचन गार्डेन बनाउनु उपयुक्त हुन्छ ।
– सिंचाई गर्न मिल्ने र पानीको निकासको पनि व्यवस्था गर्नुपर्छ ।
– तपाईलाई थाहा हुनुपर्छ कि, कुन सिजनमा कस्तो सब्जी लगाउने भन्ने कुरा ।
– आफैले सानो नर्सरी राख्न सकिन्छ, आफुलाई धेरै भएको बिरुवा विक्री गर्न सकिन्छ ।
– सब्जी रोप्नका लागि महंगो गमलाको आवश्यक्ता छैन । पुरानो बाल्टी, बोरा, भाँडा प्रयोग गर्न सकिन्छ ।