असार २९, २०७४ प्रतिबन्धित जडिबुटी पाँचऔंले ओसारपसारमा संलग्न रहेको पुष्टि गर्दै जिल्ला अदालत जाजरकोटले डोल्पाका नामबहादुर बोहरालाई २२ लाख रुपैयाँ जरीवाना र ४ महिना कैदको फैसला सुनाएको छ । मुड्केचुला गाउँपालिका ६ का ६८ बर्षीय बोहरालाई न्यायाधीश लिलाराज अधिकारीको इजलासले आज प्रतिबन्धित जडीबुटी पाँचआंैले ओसारपसार गरेको प्रमाणित गर्दै सो फैसला सुनाएको हो ।
अदालतले बोहरालाई बन ऐन २०४९ को दफा ५० (घ) बमोजिम जरीवाना र कैद गरेको हो । बोहरालाई प्रहरीले गत माघमा १ हजार ९० वटा पाँचऔंले सहित पक्राउ गरेको थियो । अदालतले एउटा पाँचऔंलेको १ हजारको दरले १० लाख ९० हजार विगो कायम गरेको श्रेस्तेदार अधिकृत मेघनाथ चापागाईंले बताउनुभयो ।
वन ऐनमा विगोको दोब्बर जरीवाना र कैद दुबै हुने ब्यबस्था अनुसार बोहरालाई २१ लाख ८० हजार जरीवाना तथा ४ महिना कैद सजाय भएको अधिकृत चापागाईंले बताउनुभयो । बोहरा ६ महिनादेखि जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।