परीक्षाका लागि ३१९ परीक्षार्थीलाई विभाग परिसर बानेश्वर पठाइयो उपत्यकाका अन्य व्यवसायी र कार्यालयबीच ट्रायल गराउने सवारीका विषयमा विवाद भएपछि आइतबारबाट सुरु हुन लागेको परीक्षा स्थगित भएको हो।

भिडियो सहित हेर्नुहोस !
Advertisement


श्रावण ९, २०७४- जिल्लामा पहिलोपल्ट आइतबारबाट हुने भनिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा सुरु नहुँदै रोकिएको छ। यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमी नगरपालिका ९ राधेराधेस्थित ‘ईजी वे ट्रायल सेन्टर प्रालि’ मा दुईपांग्रे सवारी साधनको लाइसेन्सको ट्रायल आइतबारदेखि सुरु गर्ने गरी मंगलबार सम्झौता गरेको थियो।
उपत्यकाका अन्य व्यवसायी र कार्यालयबीच ट्रायल गराउने सवारीका विषयमा विवाद भएपछि आइतबारबाट सुरु हुन लागेको परीक्षा स्थगित भएको हो। यातायात व्यवस्था विभागले मनोमानी ढंगबाट बिनासम्झौता ट्रायल गराउने मोटरसाइकल र गाडीको कम्पनी परिवर्तन गराएको भन्दै पुरानै कम्पनीबाट सञ्चालन गर्नुपर्ने माग राखेर व्यवसायीले अवरोध गरेपछि स्थगित भएको हो।
विभागले वैशाखसम्म हिरो कम्पनीको स्प्लेन्डर मोटरसाइकल र सुजुकी कम्पनीका गाडीबाट ट्रायल गराउँदै आएकोमा यामाहा कम्पनीबाट सञ्चालन गर्न खोजेपछि व्यवसायीले विरोध जनाएका हुन्। विभागले प्रतिपरीक्षार्थी ५५ रुपैयाँ लिएर यामाहा मोटरसाइकलबाट ट्रायल दिन व्यवस्था मिलाउन दिएको निर्देशनविपरीत अन्य व्यवसायीले विरोध गरेका हुन्। ‘विभागले व्यवसायीसँग मनोमानी ढंगबाट सवारी परिवर्तन गर्दै छ,’ व्यवसायी अंगदजंग अधिकारीले भने, ‘बोलपत्र आह्वान नगरी भित्रभित्रै यामाहालाई अनुमति दिएको हो। कि आ–आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिन लगाउनुपर्‍यो।’
बिहान ७ बजेदेखि परीक्षा सुरु हुने भनी ५ बजेदेखि लाइन बसेका परीक्षार्थीलाई विवाद र तनावबीच ९ बजे परीक्षा रद्द भएको जानकारी गराउँदै यातायात कार्यालय भक्तपुरका प्रमुख अनोज घिमिरेले विगतमा जस्तै बानेश्वरमै परीक्षा दिन जान आग्रह गरे। परीक्षा रद्द भएपछि परीक्षार्थीले केहीबेर नाराबाजीसमेत गरे। ‘अफिस बिदा लिएर आएको ट्रायल नै रद्द भयो,’ पनौती ४, खरिबोट काभ्रेकी सुनीता बञ्जाराले भनिन्।
कार्यालयले दुईपांग्रे सवारीको ट्रायल दिन राधेराधेमा सहभागी भएका ३१९ परीक्षार्थीलाई विभाग परिसर बानेश्वर पठाएको जनाएको छ। भक्तपुरलगायत पूर्वतर्फका सेवाग्राहीको सहजका लागि सरकारले २०७३ माघ २ बाट सूर्यविनायक ८ जगातीमा कार्यालय स्थापना गरी सेवा दिँदै आए पनि करिब ६ महिनापछि मात्र ट्रायल सञ्चालन हुन लागेको थियो। कार्यालय प्रमुख घिमिरेले भने विभागको निर्देशनअनुसार काम गर्नुपर्ने बताउदै ट्रायल लिने सवारीको छनोट विभागले नै गरेको बताए।

Related Posts: