असार १८, २०७४- संखुवासभाका १० वटा स्थानीय तहमा नगरमा एमाले र गाँउमा कांग्रेसले पकड जमाएका छन् । पाँचवटा नगरपालिका मध्ये ३ वटा एमालेले जितेको छ भने २ वटा काग्रेस विजयी भएको छ । पाँच गाँउपालिका मध्ये ३ मा काग्रेस र दुईमा एमाले विजयी भएको छ ।
जिल्ला महत्वपूर्ण मानिने सदरमुकाम समेत रहेको खाँदबारी नगरपालिकाको मेयरमा एमालेका मुरारी खतिवडा र उपमेयरमा डेगेश्वरी श्रेष्ठ विजयी भएका छन् । २०५४ सालको स्थानीय निकायको चुनावमा पनि यो नगरमा एमालेले विजयी झण्डा फराएको थियो ।
विगतको विरासतलाई एमालेले यसपटक पनि जोगाएको हो । खतिवडाले ५५६५ मत ल्याएर काग्रेसका महेशकुमार थपलियालाई हराए । थपलियाले ५१३१ मत प्राप्त गरे । एमालेले चैनपुर र मादी नगरपालिका पनि जितेको छ । काग्रेसले पाँचखपन र धर्मदेवी नगरपालिकामा विजय हासिल गरेको हो । पाँचखपनको उपमेयरमा भने एमालेले विजयी भएको छ । काग्रेसले चिचिला, सिलिचोङ र भोटखोला गाँउपालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ । एमाले सभापोखरी र मकालु गाँउपालिकामा विजयी भएको छ । अनियमितता रोक्छु : खतिवडा खाँदबारी नगरपालिकाका नवनिर्वाचित मेयर मुरारीप्रसाद खतिवडाले सरकारी कार्यालयमा अनियमितता रोक्ने प्रतिवद्धता जनाएका छन् ।
विजयी भएको घोषणा भएलगै लगत्तै आईबार उनले सरकारी कार्यालयमा हुने गरेको अनियमितता रोक्ने बताए । ‘२० बर्ष पछि स्थानीय तहको निर्वाचन भएको छ’, उनले भने, ‘ नगरवासीलाई परेको पीरमर्का र ढिलासुस्ती रोक्ने छु ।’ पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी सहज ढंगले उपलव्ध गराउने उनले बताए । नगरबासीलाई सुशासनको प्रत्याभूति गराउने छु, उनले भने, ‘पार्टीले तयार गरेको कार्ययोजनालाई अघि बढाउने, चुनाव अघि गरिएको घोषणापत्रको आधारमा काम गर्ने छु ।’
खाँदबारी नगरपालिकाको नवनिर्वार्चित मेयर र उपमेयरलाई उनका निकटम प्रतिद्वन्द्वीले बधाई तथा शुभकामना दिएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महेश थपलिया र नीरु बस्नेतले बधाई तथा शुभकामना दिएका हुन् । बिजय जुलुसमा सहभागी भएका खतिवडा र श्रेष्ठलाई उनीहरुले खाँदबारी नगरलाई समृद्ध बनाउन आग्रह गरेका थिए ।