रुकुमको इतिहासमा पहिलोपटक एक महिला स्थानीय तहको नेतृत्वमा पुगेकी छिन् । जिल्लाको ऐतिहासिक ‘बाउन्न पोखरी त्रिपन्न टाकुरी’को नामले चिनिने सुन्दर रुकुमकोटकी कुमारी बरालले यो गौरव हासिल गरेकी हुन् चर्चित कमल तालसमेत रहेको सिस्ने गाउँपालिकाको प्रमुखमा कुमारीले देशका दुई ठूला पार्टी कांग्रेस-एमालेको गठबन्धनलाई पछार्दै गाउँपालिकाको अध्यक्ष जितिन् ।
उनका प्रतिस्पर्धी उम्मेद्वार पनि चानचुने थिएनन् । नन्दलाल शर्मा रुकुमको राजनीतिमा खारिएको नाम हो । लामो शिक्षण पेशा त्यागेर नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका शर्मा एमालेको जिल्ला अध्यक्ष भइसकेका व्यक्ति हुन् । रुकुमकोटकै स्थानीयबासी शर्मालाई पछि पार्नु कुमारी बरालका लागि कम चुनौतिपूर्ण थिएन । बुहारी बनेर छिरिन्, अध्यक्ष बनेर निस्किइन्
गुल्मीको ठूलो लुम्पेकमा जन्मे-हुर्केकी कुमारी माओवादी आन्दोलनमा लाग्दै गर्दा रुकुमको साविक रुकुमकोट गाविसमा बुहारीको रुपमा भित्रिएकी हुन् । गण्डक क्षेत्रमा कार्यरत रहँदा बासुदेव गौतम ‘प्रविण’सँग उतै उनको चिनजान भएको थियो । पछि नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत माओवादी नेताहरुको उपस्थितिमा पार्टीले उनीहरुको बिहे गराइदियो ।
कुमारीले पहिलो पटक उम्मेद्वार हुन्छु भन्दा हाँसोमा उडाउनेहरु धेरै थिए । एमालेको गढ भनेर चिनिने सिस्ने गाउँपालिका रुकुमकोटमा बलियो उम्मेदवारको खोजी माओवादी केन्द्रलाई थियो । त्यसैले सुरुमा कुमारीले आफू गाउँपालिका अध्यक्षमा दाबी गर्दा उनकै पार्टी माओवादी केन्द्रका कतिपय नेताले पत्याएका थिएनन् ।
स्थानीयस्तरमा भिजेको, पाको उमेरको र सिनियर नेता उठाउँदा मात्र जितिने आंकलन माओवादी नेता-कार्यकर्ताको थियो । पुराना रजौटाहरुको ‘लिगेसी’ बोकेको रुकुमकोट क्षेत्रमा माओवादी राजनीति फस्टाउनु गाह्रो कुरा त छँदै थियो, एमालेको गढ भत्काउने चुनौति पनि थियो ।
रुकुमको विकट बस्तीका बासिन्दाले कुमारीलाई राम्रोसँग चिनेका पनि थिएनन् । ‘गुल्मी जिल्लाबाट आएको र रुकुमको बस्तुस्थिति बुझिनसकेको हुँदा टिकट पाउन सजिलो थिएन,’ कुमारीले चुनावको तयारी सुरु हुनुभन्दा अघिका दिन सम्झिइन्, ‘कतिपयलाई कुरा बुझाउन समय पनि लाग्यो । तर, अन्ततः पार्टीले मलाई नै योग्य ठान्यो र टिकट दियो ।’