रहेनन् फिफा काण्डका मुख्य सूचक

भिडियो सहित हेर्नुहोस !
Advertisement

२९, २०७४- भ्रष्टाचारको आरोप स्वीकार गरेका फिफाका पूर्व कार्यकारिणी सदस्य चक ब्लेजरको निधन भएको छ । बुधबार उनका वकिलहरूले निधनको जानकारी दिए पनि अन्य विवरण खुलाइएको छैन ।

न्युयोर्क टाइम्सका अनुसार उनी रेक्टल क्यान्सरबाट वर्षौंदेखि पीडित थिए । ७२ वर्षे ब्लेजर सन् १९९० देखि २०११ सम्म उत्तर, मध्य तथा क्यारेबियन फुटबल संघहरूको महासंघ (कन्काकाफ) का महासचिव थिए । उनले अमेरिकी अभियोजकहरूसामु सन् २०१२ मा घुसका साथै वित्तीय अपराध गरेको स्वीकारेका थिए । उनलाई लगत्तै फिफाले फुटबलबाट आजीवन प्रतिबन्ध लगाएको थियो ।

उनले नोभेम्बर २०१३ मा रेकर्ड गरेको स्वीकारपत्रमा आफू र फिफाका अन्य सदस्यले विश्वकप १९९८ र विश्वकप २०१० को आयोजना दाबी प्रक्रियाका क्रममा घुस लिएको उल्लेख छ । फिफाको इथिक्स कमिटीले उनीमाथि बफादारिता, गोप्यता लगायतका सर्तहरू मिचेर भ्रष्टाचार गरेको अभियोग लगाएको थियो ।

ब्लेजरले अमेरिकी अनुसन्धान निकायहरूलाई फिफा भ्रष्टाचार काण्डमाथि छानबिनका लागि सघाएका थिए । त्यसकै परिणामस्वरुप फिफामा झन्डै दुई दशक राज गरेका सेप ब्लाटर बर्खास्त हुन पुगे ।
ब्लेजरले पूर्व कन्काकाफ अध्यक्ष ज्याक वार्नरले विश्वकप २०१० को आयोजना दक्षिण अफ्रिकाले जितेको अवस्थामा क्यारेबियन देशहरूमा अफ्रिकी समुदायको सहायताका लागि संचालित १ अर्ब रुपैयाँबराबरको परियोजनाबाट रकम लिएको आरोप लगाएका थिए ।

फिफा अध्यक्ष पदका उम्मेदवार मोहम्मद बिन हमामबीच घुसखोरी चलेको भन्ने संकेत गरेपछि फिफाले सन् २०११ को फिफा चुनावी प्रक्रियामाथि छानबिन सुरु गरेको थियो । फिफाले वार्नर र हमाममाथि आजीवन प्रतिबन्ध नै लगाएको थियो ।
फिफाले ब्लेजरका परिवारप्रति समावेदना व्यक्त गरेको छ । तर फिफाको वक्तव्यमा ब्लेजरको निधनले भ्रष्टाचार छानबिन प्रभावित हुने नहुने विषयमा कुनै टिप्पणी गरिएको छैन ।

ब्लेजरको जन्म १९४५ मा न्युयोर्कमा भएको थियो । उनी पहिले सेल्सम्यानका रूपमा काम गर्थे । उनी अन्तर्राष्ट्रिय फुटबलमा उदाउनु अघि आफ्नै छोरालाई फुटबल तालिम गराउँथे । उनी आफ्ना उच्चस्तरीय भेटघाट र भ्रमणका विषयमा लगातार ब्लग लेख्थे । उनले सन् २०१० मा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेको कुरासमेत उल्लेख गरेका छन् ।
‘पुटिनले मलाई निकै गम्भीर भएर हेरिरहे र नहाँसिकन भने– तपाईलाई थाहा छ, तपाई कार्ल माक्र्सजस्तै देखिनुहुन्छ,’ ब्लेजरले ब्लगमा भनेका छन् ।

Related Posts: