घर भनेको ढुंगामाटो मात्र होइन, मन पनि हो । मन रमाए जहाँ, जसकोमा बसे पनि आफ्नै घरमा बसेजस्तो हुन्छ । आफ्नै घर भए पनि नभए पनि यो संसार नै बाँचुन्जेलको डेरा त हो, सकेसम्म मिलेर बसौं । मरिलानु के छ र ! अविरल थापा | मुक्त आकाश

भिडियो सहित हेर्नुहोस !
Advertisement

मानिसहरू अनेक सपना बोकेर गाउँबाट सहर पस्छन् । कोही पढ्न, कोही जागिर खान, कोही उद्यम गर्न, कोही सीप सिक्न– अनेक काम र बहाना हुन सक्छन् । काठमाडौंलाई नै उदाहरण लिउँm । यहाँको जनघनत्व यति बढिसकेको छ कि गतिलो डेरा पाउन पनि दरिलै सम्बन्ध र सम्पर्कको सञ्जाल हुनुपर्छ । आजकल त कोठा खाली हुन पाउँदैन, निस्कने डेरावाल सामान बाहिर ओसार्दै हुन्छ भने अर्को उक्त डेरामा बस्न आफ्नो सामान भित्र्याउँदै हुन्छ । लाखौं मानिस बस्ने यो सहरमा सबैको घर हुने कुरा पनि भएन । कतिले पैसा भए पनि घर बनाउँदैनन्, डेरामै बस्न रुचाउँछन् । कतिपयमा काठमाडौंमा चार आना जग्गा किनेर यतै बस्ने जिन्दगीभरिको सपना हुन्छ ।

कमाउँला र काठमाडौंमा घर बनाउँला भन्दाभन्दै जुनी काट्नेहरू एकातिर छन् भने अर्कातिर घर बनाएर भाडा उठाई आरामले जुनी काट्नेहरू पनि छन्, तर मुख्यत: सहरमा घरबेटी र डेरावालबीचको सम्बन्ध जति स्वस्थ र हार्दिक हुनुपर्ने हो त्यति पाइँदैन ।

घरबेटीले प्राय: डेरामा बस्नेलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्छन् । एकपटक एउटा साथीले सुनायो— एक दिन घरबेटीले आफ्नै डेरावाललाई उही सुपरमार्केटमा किनमेल गरिरहेको भेटेपछि ओहो ! यो त डेरामा बस्नेहरू पनि आउने ठाउँ रै’छ भनेर त्यहाँ किनमेल गर्न जानै छोडे रे !

विकसित देशमा सरकारले भाडामा लाउने घर वा कोठामा के–के न्यूनतम सुविधा हुनुपर्छ तोकेको हुन्छ भने कहीं त भाडादरसमेत तोकिएको हुन्छ । धेरै ठाउँमा यो कुरा लिने र दिनेको सहमतिमा भर पर्छ, तर नेपालमा कागजमा यस्तो हुनुपर्छ भनेर लेखिएको भए पनि कार्यान्वयन र अनुगमन हुँदैन । नेपालमा घरबेटीले एकतर्फी रूपमा आफूले बनाएको कागजमा आफ्ना नियमहरू लाद्छन् र डेरावालहरू लाचार भएर त्यसलाई मान्न विवश हुन्छन् ।

सामान्य सुविधाको माग गर्दा पनि मन नपरे नबस्नुस् भन्ने ठाडो जवाफ पाइन्छ । गुनासो र सुनुवाइ गरिदिने कुनै निकाय छैन । मन लागेका बेला डेरा खाली गराउने विशेषाधिकार घरबेटीसँगै सुरक्षित हुन्छ । निहित स्वार्थ पूर्तिका लागि प्रहरी नै लगाएर सम्झौता नसकिँदै जबरजस्ती निकालिएका उदाहरण पनि कैयन् छन् । सरकारले नियम–कानुनले कस्ने हो भने सहरबाट करोडौं भाडाकर उठाउन सक्छ तर घरबेटीहरू लाखौं आम्दानी गरेर हजार पनि कर तिर्दैनन् वा तिर्नै नपर्ने गरी कानुनका छिद्रहरू खुला छोडिएको छ ।

घरबेटीहरू पनि अनेक किसिमका हुन्छन् । सबै घमन्डी र हेपाहा मात्र पनि हुँदैनन् । जो डेरावालबाट घरबेटीमा स्तरोन्नति भएका हुन्छन् उनीहरू सामान्यत: सन्तुलित व्यवहार प्रस्तुत गर्छन् । कतिपय घरबेटीको आयस्रोत घरभाडामात्र हुन्छ र महिना मरेकै दिन टुप्लुक्क माग्न आइपुग्छन्, कसैमा ६ महिना, वर्ष दिनमा एकमुस्ट घरभाडा लिने बानी हुन्छ । केही घरबेटी सार्‍है किच्चक हुन्छन् ।

पाहना आए पनि कचकच, पैसा दिन केही दिन ढिला भए पनि कचकच, पानी धेरै चलायो भनेर पनि कचकच । पानी तान्ने मेसिन बिग्रिएको मर्मत खर्च, फोहर फाल्ने सामान्य खर्च पनि भाडामा जोडेर उठाउँछन् । भाडा तिरेपछि न्यूनतम सुविधा र खर्च त घरबेटीले नै बेहोर्नुपर्ने हो । कोही ६ महिना वा वर्षदिनमै भाडा बढाएर कचकच गर्छन् । कतिपय घरबेटी डेरावालकहाँ को आयो, के पकायो, के खायो भनेर चियोचर्चो गर्ने खालका हुन्छन् ।

अझ केटा बसेको ठाउँमा केटी र केटी बसेको ठाउँमा केटा आए भने त कुरै सक्कियो । गैरकानुनी कामको शंका नभएसम्म डेरावालको निजी जिन्दगीमा चासो राख्नु घरबेटीको क्षेत्राधिकारमा पर्ने कुरा होइन । एक जना घरमालिक भन्थे, ‘डेरावालले कोठामा किला ठोक्दा त मुटुमै ठोकेजस्तो लाग्छ ।’ कतिपय घरबेटीचाहिँ सार्‍है मिलनसार हुन्छन् । घरमा पाकेको बाँडेर खान्छन्, उनीहरू डेरावालाकहाँ पनि सुमधुर आवतजावत गर्छन्, सुखदु:खमा साथ दिन्छन् ।

कहिले घरबेटीको छोराले डेरावालकी छोरी त कहिले डेरावालले घरबेटीकी छोरी नै उछिट्याइदिएर कतिपय घरबेटी र डेरावालबीच वैवाहिक सम्बन्ध नै पनि कायम हुन्छ । कहिले डेरावालले नै बसेकै घर पनि किनिदिन्छन् । त्यसैले को कतिबेला घरबेटी हुन्छ र को डेरावालमा झर्छ पत्तो हुँदैन । प्राय: घरबेटीले कुकुर पालेका हुन्छन् र कहिलेकाहीं कुकुरले डेरावालको पनि जुत्ता र लुगा टोकेर बिगारिदिन्छ, तर त्यसबापत सामान्य सहानुभूति पनि नजनाई राम्रोसँग राख्नुपर्छ नि भनेर हेपाहा प्रवृत्ति पनि देखाउँछन् । यस्ता घरबेटीलाई सामन्ती घरबेटीभन्दा फरक पर्दैन ।

यता डेरावाल पनि अर्काको घर त हो नि भनेर स्रोतको दुरुपयोग गर्ने, सरसफाइमा ध्यान नदिने खालका पनि हुन्छन् । अनावश्यक हल्ला गर्ने, आवश्यकताभन्दा बढी पाहुना र जमघट गराउँदा घरबेटीले झिंजो मान्छन् । दुवैले आफू उक्त ठाउँमा भए कस्तो व्यवहार गर्थें भनेर सोच्ने हो भने समस्या आफैं हल हुन्छ । डेरा पनि आफ्नै घर र डेरावाल आफ्नै संरक्षक हुन् भनी असल व्यवहार गर्नुपर्‍यो ।

सबैको आ–आफ्नो स्थानमा मान, सम्मान र इज्जत हुन्छ । घर भनेको ढुंगामाटो मात्र होइन, मन पनि हो । मन रमाए जहाँ, जसकोमा बसे पनि आफ्नै घरमा बसेजस्तो हुन्छ । आफ्नै घर भए पनि नभए पनि यो संसार नै बाँचुन्जेलको डेरा त हो, सकेसम्म मिलेर बसौं । मरिलानु के छ र !





Related Posts: