एकपटक दाउराले टाउकामा हानेँ आमा ढलिन, घाइते बनाउनुभन्दा मार्नु जाति भन्ने लाग्यो फेरि हाने,’ जन्मदिने आमाको हत्या अभियोग लागेका ३५ वर्षीय कुमार बस्नेतले भने, ‘रिस थाम्न नसक्दा ठूलो पाप गरेँ ।’अप्रिय लाग्ने भीमेश्वर नगरपालिका— ८ स्थित मोहरटोलकी ७० वर्षिया खड्गमाया बस्नेतको हत्या गरेपछि बस्नेत हिरासतमा छन् ।
घरमा आमा खड्गमाया र छोरा कुमारमात्र बस्थे । मदिराको लत लागेका कुमारले जहिल्यै आमासँग पैसा माग्थे । दु:खजिलो गर्ने आमाले बेकामी छोरालाई मागेको बेला ५० रुपैयाँ दिनुपथ्र्यो । ‘बारीमा घाँस काटिरहेकी आमासँग पैसा मागेँ, दिइनन् दाउराले हिर्काए,’ कुमारले भने ।
‘पैसा छैन भनेपछि रिस थाम्न सकिन, नजिकको दाउरा टिपेर हानेको र ढलेपछि फेरि हानें’, उनले बताए ।आमाको हत्या भैसकेपछि ‘के गरेको हुँला’ भनेर पछुतो लागेको उनले बताए । दोलखास्थित जिल्ला प्रहरी कार्यालयमा उनले रुदै भने, ‘एकछिनको सनकले आमा सधैको लागि सिद्दिइन ।’
कुमारको मदिराको लत र सनककै कारण छ बर्षदेखि श्रीमती काठमाडौंमा अलग भएर बस्दै आएकी थिइन् । एक छोरा र एक छोरीको जिम्मेवारीबाट समेत कुमार अलग थिए । घरमा आमासँग बस्ने कुमार सधैजसो मदिरा सेवन गर्थे । विभिन्न बाहनामा आमामाथि पटकपटक आक्रमण गरिरहन्थे ।
अघिल्लो दिन पनि आमासँग भएको ५० रुपैयाँ थैलीबाट जवरजस्ती कुमारले लिएका थिए । उक्त कुरालाई स्वीकारेका कुमारले आमासँग त्यो दिन (आइतबार) पनि पैसा मागेको बताउँछन् । कक्षा ८ उत्तीर्ण गरेका उनले सजाय घटाउन कुनै अभियोजन नगर्ने मनस्थिति बनाएका छन् ।प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीका अनुसार मदिराको मात र क्रोधका कारण कुमारले आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको बताए । उनले समाजमा अधिकाशं घटनाहरु मदिरा सेवनपछि भएको देखिएको जानकारी दिए