कुन सैद्धान्तिक र राजनीतिक धरातलमा एमाले र माओवादी केन्द्र सत्तासीन कांग्रेसविरुद्ध खडा भएका हुन् ? दसैं नसकिँदै राजनीतिले तीव्र मोड लिएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र प्रदेश र संसदीय चुनाव मिलेर उठ्ने सहमतिले दसैंमा झुमेका नेपाली मात्र होइन, नेपालमा खेलिरहेका विदेशी पनि चकली भूत बनेका छन्। यद्यपि, निर्णय औपचारिक रूपमा बाहिर आइसकेका छैनन, दुवै दलले उच्चस्तरीय एकता समिति बनाएका छन्। यसले देशभरका दल वायु वेगमा ध्रुवीकरणतर्फ एकीकृत हुन थालेको देखिँदैछ। एमालेलाई एक्ल्याउन लागेको नेपाली कांग्रेस नौरथाका नौ दिन नसकिँदै हठात् एक्लो बन्न पुगेको छ। उसको सत्ता साझेदार माओवादी केन्द्र नै चुनावमा उसैविरुद्ध लड्ने भयो। उसो त एमाले र माओवादी पहिले पनि मिलेर सत्तासीन भएका हुन् तर किन उनीहरू भत्किए र अहिले फेरि मिल्दैछन् ? कुन सैद्धान्तिक र राजनीतिक धरातलमा यी दुई पार्टी सत्तासीन कांग्रेसविरुद्ध खडा भएका हुन् ? देशका दुई र तीन नम्बरका ठूला दल कुनै आधारबाट होइन, चुनावको मुखमा भोट बढी ल्याउन सकिने भएर मात्र एक भएका हुन् ? यसो हो भने यसलाई सैद्धान्तिक र दिगो मिलन भन्न मिल्दैन।
कम्युनिस्ट कित्तामा उल्लास छाएको छ। किन ? किनभने छरिएका कम्युनिस्टहरू एक ठाउँमा मिल्दैछन् ! मिलनको बलमा जनताले केही परिवर्तनको आश गरेका छन्। तर ख्याल गर्नुपर्ने कुरा के भने, यी मिल्नका लागि मिलेका हुन् कि कुनै लक्ष प्राप्त गर्न दुई कम्युनिस्ट पार्टीले एकता गरेका हुन् ? नेपालको सन्दर्भमा उनीहरूले उठाएका मुद्दा के के हुन् ?
जहाँसम्म देशको कुरा हो, संविधान कार्यान्वयन, भारत र चीन सम्बन्ध, विदेश सम्बन्ध, प्राकृतिक स्रोत साधन, व्यापार, उद्योगको उपयोग, वैदेशिक रोजगारीमा गएका पचास लाख युवा, जलविद्युत्को प्रवल सम्भावना भए पनि लोडसेडिङ्मा बस्नुपर्ने बाध्यताको सामना कसरी गर्ने ? विदेशसँगको सम्बन्धलाई कसरी नेपाल र नेपालीको हितमा प्रयोग गर्ने ? अर्थात, जुन विषयमा पूरै राष्ट्र एक हुनुपर्ने छ तिनमा यी दुई पार्टी मिलेका हुन् भने त्यसले मुलुकलाई एउटा दिशा भने दिन सक्छ।
एमाले र माओवादी केन्द्रको यो एकता लोकतान्त्रिक पद्धति कि कम्युनिस्ट पद्धति निर्माण गर्नको लागि भएको हो ? रूसी शास्त्रीय समाजवाद वा चिनियाँ पद्धतिको समाजवादमा जानका लागि गरिएको एकता हो ? दुई पार्टीबीचको एकताको स्वागत गर्दा गर्दै पनि उनीहरूको एकताको लक्ष र जगलाई हेर्नुपर्छ। यो एकता प्रजातान्त्रिक पद्धतिभित्र अगाडि बढ्नका लागि हो वा अन्य ? समाजवादी क्रान्ति पनि भनिँदैछ, त्यसले एकता पक्षधरहरूलाई आफ्नो कार्यक्रम स्पष्ट पार्ने दबाब सिर्जना गरेको छ।
एक राजनीतिक विश्लेषकले भने, कुनै पनि हालतमा वाम–प्रजातान्त्रिक कार्यभारबाट नेपाली राजनीति बाहिर जानु हुँदैन किनभने त्यतातर्फ गयो भने त्यो दिगो हुन सक्दैन र मुलुकले पचाउँदा पनि पचाउन्न ! होइन, यो एकता चुनावमार्फत शक्ति हात पार्न लागि मात्र हो भने कुरा बेग्लै हो। यसो हो भने, यस्तो अवस्था एक वर्षअघि नै आएको थियो। विदेशी चलखेल तोड्न गत वर्ष एमाले कमजोर भएपछि एमालेले अहिले गरेजस्तो एकता माओवादीसँग गर्न सकेको भए र प्रचण्डलाई आफ्नो समर्थनमा प्रधानमन्त्री बनाएको भए परिस्थिति अर्कै हुन सक्ने थियो।
साँच्चै भन्ने हो भने, यो एकता एकदम रोचक पनि देखिइरहेको छ, किनभने कांग्रेस पनि एमालेबाहेक अरू दलहरूसँग एकता गर्न आह्वान गरिरहेको छ। उसले माओवादीसँग त दीर्घकालीन एकताको रट नै लगाइरहेको छ। यसकै लागि ५६ सदस्यीय मन्त्रिमण्डल पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बनाए। तर यति ठूलो मन्त्रिपरिषद् बनाएर पनि कांग्रेसको सत्ता जोगिन सक्ने छाँट देखिँदैन। एमालेलाई एक्ल्याउने कांग्रेस योजना जबर्जस्त तुहिएको छ। यो एकता कांग्रेसलाई एमालेको यस्तो जवाफ सावित भएको छ कि अब कांग्रेसलाई सत्तामा बस्न पनि गम्भीर वैधानिक प्रश्न उत्पन्न हुन पुगेको छ।