माइग्रेन के हो ? कसरी जोगिने ?

भिडियो सहित हेर्नुहोस !
Advertisement


माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, जुन समय–समयमा दोहोरिरहन्छ । यस्तो पीडा प्राय: टाउकाको एक भागमा हुन्छ । टाउकोमा च्वास्स–च्वास्स घोचेजस्तो गरेर दुख्छ । माइग्रेन जसलाई पनि हुन सक्छ तर माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखा पर्छ ।माइग्रेनका कारण

माइग्रेनलाई वंशानुगत रोगका रूपमा पनि लिइन्छ । मस्तिष्कमा जैविक रसायनहरूको असन्तुलन हुँदा टाउको दुख्ने वैज्ञानिकहरूको अनुमान छ । माइग्रेन हुँदा मस्तिष्कको काममा परिवर्तन आउँछ । यसले गर्दा रक्तनली तथा मस्तिष्क वरिपरिका नसाहरू सुन्निन्छन् ।

अन्य कारण

 बढी मानसिक चिन्ता ।

 चिया र कफीको अत्यधिक सेवन ।

 समयमा नसुत्दा ।

 गुन्द्रुक, तामा तथा सिसीमा राखिएको पुरानो अचारको सेवन ।

 पीडा कम गर्ने औषधी बढी मात्रामा (पेनकिलर) प्रयोग गर्दा ।

माइग्रेनका लक्षण

 माइग्रेन लामो समयसम्म रहने रोग हो । यसको लक्षण बिरामीपिच्छे फरक–फरक हुन सक्छ ।

 तीमध्ये प्राय :

 टाउकाको एक भागमा मात्र दुख्छ । करिब एकतिहाइ बिरामीमा पीडा टाउकाको दुवै भागमा समेत हुन्छ ।

 टाउकाको कहिले एकतिर त कहिले अर्कातिर दुख्छ ।

 कहिलेकाहीं निधार र घाँटीतिर पनि दुख्ने समस्या हुन सक्छ ।

 वाकवाकी लाग्ने, बान्ता हुने, उज्यालो प्रकाश आदि सहन नसक्ने, हातखुट्टा दुख्ने आदि समस्या देखा पर्न सक्छ ।

 टाउको दुखाई बल्झिनुभन्दा अघि कसैकसैमा चिड्चिडाहट्पन देखा पर्ने, निद्रा लागेजस्तो हुने, लगातार हाई–हाई आउने, थकाइ लागेजस्तो हुन्छ ।

 टाउको दुखाइ सकिएको करिब २४ घण्टासम्म बिरामीले थकान महसुस गर्छ भने मन्द टाउको दुखाइ कायमै रहन्छ ।

कसरी पत्ता लगाइन्छ ?

माथि दिइएका कारणहरूबाट माइग्रेनको अनुमान लगाउन सकिन्छ । माइग्रेनका लागि अन्य कुनै जाँचको आवश्यकता पर्दैन । यदि माथि दिइएका लक्षण बिरामीको टाउको दुखाइसँग मेल खाँदैनन् भने चिकित्सकले मस्तिष्कसम्बन्धी अन्य कुनै परीक्षण गराउन सक्छन् । जस्तै एमआरआई, सिटी स्क्यान आदि ।

रोकथाम कसरी गर्ने ?

 माइग्रेनको कुनै निश्चित उपचार नभए पनि हामी स्वयंले केही उपाय अपनायौं भने पीडाबाट धेरै हदसम्म मुक्त रहन सक्छौं ।

 माइग्रेन क्याफिनले गर्दा बढ्ने भएकाले क्याफिन पाइने कुराहरू जस्तै चिया, कफी, ब्राउन चकलेट आदि कम मात्रामा खानुपर्छ ।

 एउटै समयमा सुत्ने बानी बसाउने ।

 पुुरानो अचार, गुन्द्रुक, तामाजस्ता खानेकुरा नखाने, साथै पिरो कम खाने ।

 चिन्तालाई मनबाट हटाउने ।

 घाममा धेरै बेर नबस्ने, यदि घाममा हिंड्नुपरे छाता प्रयोग गर्ने ।

 पीडा कम गर्ने औषधी कम प्रयोग गर्ने । यस्ता औषधी बढी सेवन गर्दा टाउको दुखाइ केही कम हुन्छ तर फेरि बल्झिन्छ ।

 पीडा बढ्ने कारण

 केश रंगाउँदा ।



 केशमा पुरानो मेथी र तेल लगाउँदा ।

 राति समयमा नसुत्दा ।

 कसै–कसैलाई च्याउ खाँदा पनि माइग्रेन बल्झिएको पाइन्छ ।

 मनमा धेरै कुरा खेलाउँदा ।

(डा. पंकज जलानसँग नरेन्द्र रौलेको कुराकानीमा आधारित)

Related Posts: