भिडियो सहित हेर्नुहोस !
Advertisement
मलेसियामाथि १० विकेटको शानदार जित हात पार्दै नेपाल एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि हङकङसँग खेल्नेछ ।
शनिबार भएको सेमिफाइनलमा घरेलु टोलीले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले २३.१ ओभरमा विना विकेट क्षतिमा भेट्टायो ।
नेपाललाई सहज जित दिलाउने क्रममा ओपनरद्धय सन्दिप सुनार र आसिफ शेख दुबैले अर्धशतक पुरा गरे । सन्दिप ५७ रनमा अविजित रहे भने आसिफ ५० रनमा नटआउट रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४२ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका नलिन डि सिल्भाले ३९ रन बनाए भने भिरनसिप सिंहले २५ रन जोडे ।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा कप्तान दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै २९ रन खर्चिएका थिए ।
पवन सरार्फले २ विकेट लिए भने रोहितकुमार पौडेल, साहब आलम र सन्दिप लामिछानेले १-१ विकेट लिए ।
उपाधि भिडन्त हङकङसँग
शनिबार नै भएको अर्को सेमिफाइनलमा हङकङले सिंगापुरमाथि ७ विकेटको जित हात पारेको छ ।
पहिले ब्याटिङ गरेको सिंगापुरले सिद्धान्तको ५१ रनको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो, जसलाई हङकङले ४०.२ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको छ । उसका झाथदेव एसएसले अविजित ५८ रन बनाए ।
फाइनल खेल भोलि हुनेछ ।