चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिकामा एमालेले बहुमत प्राप्त गरेको छ । कार्यपालिका गठनका लागि शुक्रबार भएको मतदानमा जम्मा ७० मत भएको एमालेले बहुमत बनाएको हो ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


३१ भदौ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिकामा एमालेले बहुमत प्राप्त गरेको छ । कार्यपालिका गठनका लागि शुक्रबार भएको मतदानमा जम्मा ७० मत भएको एमालेले बहुमत बनाएको हो ।

५ महिला र ३ दलित सदस्यका लागि भएको निर्वाचनले स्थिति उल्ट्याइदिएको हो । महानगरपालिकाको मतको ‘कम्पोजिसन’ एमाले ७०, कांग्रेस ६९ र माओवादी ८ थियो । तर एमालेले दलित र महिला ३/३ पदमा जितेर महानगरको मेयर रेणु दाहाललाई एमालेसँग सहकार्य नगरी अघि बढ्न नसक्ने ठाँउमा पुर्याएको छ ।कार्यपालिका सदस्यका लागि शुक्रबार भएको निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेका १ महिला र २ दलित सदस्य पराजित बने । कांग्रेसका ४ महिला सदस्यमध्ये २ विजयी भए भने २ जना पराजित भएका छन् । कांग्रेसको १ दलित सदस्य पनि पराजित बनेका छन् । २ जना महिला शुरुमा नै निर्वाचित भए पनि कांग्रेस र एमालेका २/२ जनाको मत बराबर ७२–७२ भएपछि गोलाप्रथाबाट सदस्य चयन गरिएको थियो । गोलाप्रथामा एमालेका २ जना र कांग्रेसबाट १ जना महिला चयन भए ।

गोलाप्रथाबाट थपिएको १ महिला सदस्यकै कारण वोर्डमा एमालेले बहुमत जुटायो । कूल १४७ जनाले मतदान गरेका थिए ।

एमालेबाट वोर्ड सदस्यमा धनकुमारी विक, पार्वती विक, विना गुरुङ, चक्र रुचाल, टेकलाल विश्वकर्मा र मानबहादुर विश्वकर्मा विजयी भए । कांग्रेसबाट गीताकुमारी शर्मा र पवित्रा केसीले जितेका छन् । महानगरपालिकाको ३९ सदस्यीय बोर्डमा एमालेबाट २० र कांग्रेस माओवादी गठवन्धनबाट १९ सदस्य भएका छन् । एमालेबाट १४ जना निर्वाचित वडाध्यक्ष, कार्यपालिकाबाट थपिएका ६ जना सदस्य गरी २० जना भएका छन् ।
कांग्रेसका निर्वाचित १२ जना वडाध्यक्ष, कार्यपालिकामा निर्वाचित २ जना महिला सदस्य, माओवादीका ३ जना वडाध्यक्ष, एवम् मेयर र उपमेयर गरी १९ जना वोर्ड सदस्य बनेका छन् । भरतपुर महानगरमा २९ वडा छन् । एमालेले चितवनका सात स्थानीय तह मध्ये ६ स्थानीय तहको वोर्डमा वहुमत बनाएको छ ।

कांग्रेस–माओवादी गठवन्धनमा संकट !

कांग्रेस सांसद रामकृष्ण घिमिरले बारम्बार माओवादीलाई भोट हाल्न परे कांग्रेसमा बस्नुको औचित्य छैन भनेर सार्वजनिक टिप्पणी गरेकै दिन भएको महानगरको कार्यपालिका वोर्ड निर्वाचन परिणामले गठवन्धनमा दरार पैदा गर्ने संकेत देखिएको छ ।

घिमिरे कांग्रेस सभापति सुशिल कोइरालाले जितेको चितवन–४ बाट निर्वाचित सांसद हुन् । बोर्डको चुनावमा कांग्रेसका प्रतिनिधिले धोका दिएको माओवादीले आरोप लगाएको छ । माओवादी केन्द्रका जिल्ला इञ्चार्ज ईश्वरी भट्टराईले आफ्नै उम्मेदवारलाई भोट नदिने कांग्रेसले माओवादीलाई पनि भोट नदिएको टिप्पणी गरे ।
‘हाम्रा त सिमित र जिम्मेवार मान्छे थिए, तर कांग्रेसले नै मत नहालेर हराए’ माओवादी इञ्चार्ज भट्टराईले भने, ‘आजै पार्टीभित्र समीक्षा गरी कांग्रेस नेतृत्वसँग पनि छलफल गर्दछौं ।
कांग्रेस चितवनका जिल्ला सचिव उत्तम जोशीले पार्टीभित्र यसबारे छलफल हुनेपर्ने बताए । उनले पार्टीले जबर्जस्ती गर्दा त्यसलाई कार्यकर्ताले नरुचाएको हुनसक्ने भन्दै कांग्रेस–माओवादी गठबन्धनबारे समीक्षा गर्नुपर्ने बताए ।
कार्यपालिका वोर्ड निर्वाचनमा बहुमत हुँदाहुदै पनि एमालेले जितेपछि आक्रोशित बनेका कांग्रेस कार्यकर्ताले पार्टी जिल्ला नेतृत्वले राजीनामा दिनुपर्ने मागसमेत गरेका थिए । सामाजिक सञ्जालमा कांग्रेस कार्यकर्ताहरुले पार्टी नेतृत्वमाथि रोषपूर्ण टिप्पणी गर्न थालेका छन् । कांग्रेस सचिव उत्तम जोशीले यसका कमजोरी पक्षहरुलाई केलाएर नियोजित गल्तीलाई अनुशासनको दायरामा ल्याउने बताए ।
यता, एमाले चितवनले पार्टीमाथि चुनावताका गरिएको अन्याय विरुद्धमा केही मतदाताले साहानभूति देखाएको टिप्पणी गरेको छ । एमाले जिल्ला उपाध्यक्ष तेजेन्द्रबहादुर खड्काले अस्वभाविक लाग्ने तर स्वभाविक परिणाम भएको दावी गरे ।
‘कांग्रेसकै कतिपय साथीहरुले गठवन्धन नरुचाएको प्रस्ट देखिन्छ, त्यो मतमा अभिव्यक्त भएको छ । एक ढंगबाट भन्दा यो सचेत विद्रोह हो’ एमाले उपाध्यक्ष खड्काले भने, ‘राष्ट्रिय राजनीतिको प्रभाव र एमालेको आवश्यकताको वोध स्वाभिमानी सबै नेपालीलाई भएकै छ ।’

Related Posts: