मोरङमा एमालेलाई धक्का

भिडियो सहित हेर्नुहोस !
Advertisement


विराटनगर : ०५४ सालको स्थानीय निकाय निर्वाचनमा मोरङको एक उपमहानगरसहित करिब सबै गाविसमा सानदार विजयको झन्डा फहराएको एमालेले गणतन्त्रको पहिलो स्थानीय तह निर्वाचनमा भने नराम्रोसँग धक्का खाएको छ ।'यो पटक हार भए पनि संविधान कार्यान्वयनको एजेन्डा आफ्नो भएको र निर्वाचनसँगै त्यो कार्यान्वयनको दिशामा गएको भन्दै' एमालेले चित्त बुझाउनुपरेको छ । संघीय गणतन्त्र हुनुअघि मोरङमा विराटनगर उपमहानगरसहित जम्मा ६५ गाविस थिए ।

०५४ सालको स्थानीय चुनावमा एमालेले विराटनगरको मेयर र उपमेयरसहित ४६ गाविसमा अध्यक्ष, उपाध्यक्षसहित बहुमत प्राप्त गरेको थियो । कांग्रेसले ९, सद्भावना र राप्रपाले ४/४ स्थानमा जितेका थिए । तर, संघीय गणतन्त्रको पहिलो स्थानीय तहको निर्वाचनको मंगलबार साँझसम्मको मतगणनाको परिणामले एमालेलाई मोरङमा अधिकांश स्थानमा पछि पारेको देखाएको छ ।

एमाले मिक्लाजुङ र कानेपोखरी गाउँपालिकामा विजयी भएको छ । धनपालथान गापा, बेलबारी र पथरी शनिश्चरे नपामा अग्रस्थानमा छ । ०५४ मा जितेको विराटनगरमा विनोद ढकाल कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुलीभन्दा २ हजारभन्दा बढी मतले पछि पर्नुभएको छ ।एमालेका सांसद तथा पार्टीका मोरङ जिल्लासचिव ऋषिकेश पोखरेल पार्टीभित्रको अन्तरविरोध र घात-अन्तरघातले धक्का व्यहोर्नुपरेको बताउनुहुन्छ, 'एमालेले जहाँ जित्दै थियो त्यहाँ माओवादी र संघीय फोरमले कांग्रेसलाई मतदान गरे ।

आफूभित्रको व्यवस्थापन पनि राम्रोसँग गर्न सकिएन । घात-अन्तरघात रोक्न नसक्नु अर्को कारण थियो ।' पोखरेलको शब्दमा एमालेले सामाजिक रूपमा अलि बढी नै 'टेस्टेड' नेतालाई उम्मेदवार बनायो जबकि कांग्रेसले 'अनटेस्टेड' उम्मेदवार खडा गर्‍यो । उसले सामाजिक द्वन्द्वमा नपरेकालाई उम्मेदवार बनाउनुको फाइदा लिँदै जनमत आफ्नो पोल्टामा पार्न सफल भयो । 'नयाँ अनुहारलाई उम्मेदवार बनाएको फाइदा उनीहरूलाई पुग्यो,' पोखरेलले भन्नुभयो, 'पार्टीको आन्तरिक व्यवस्थापन गर्न सकेको भए हामीले उपमेयरमा मात्र चित्त बुझाउनुपर्ने थिएन ।'

१७ स्थानीय तहमध्ये कांग्रेसले लेटाङ, रतुवामाई र सुन्दरहरैंचा नपाको मेयरमा जितेको छ । एमालेले उपमेयरमा चित्त बुझाएको छ । निर्वाचन क्षेत्र नम्बर ९ अन्तर्गत पर्ने लेटाङ एमालेको पकड क्षेत्र मानिन्थ्यो । रतुवामाई नपामा कांग्रेसका रविन राई विजयी बन्नुभएको छ । एमालेका चर्चित नेता मदन भण्डारीको गृहगाउँमा कांग्रेसको जितलाई अर्थपूर्ण रूपमा हेरिएको छ । कांग्रेसका विजयी उम्मेदवार राईले भन्नुभयो, 'एमाले प्रभाव क्षेत्रमा निकै ठूलो मिहिनेतपछि कांग्रेस विजयी भएको छ ।' मोरङको ७ नम्बर यो क्षेत्र सांसद ऋषिकेश पोखरेलको क्षेत्र पनि हो ।

सुन्दरहरैंचामा कांग्रेसका शिव ढकाल विजयी बन्नुभएको छ । यहाँ पनि एमालेले उपमेयरमा चित्त बुझाउनुपरेको छ । ढकालले भन्नुभयो, 'कांग्रेसले आफ्नो संगठन परिचालन र अन्य पार्टीको कमजोरीलाई फाइदामा राख्दै सुन्दरहरैंचामा जित हात पारेको हो ।' एमाले सांसद चन्द्रवीर गुरुङको निर्वाचन क्षेत्रभित्रकै केराबारी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रोहित कार्कीले जित्नुभएको छ ।

एमाले पकड क्षेत्र मानिएको उर्लाबारीमा कांग्रेसले नै अग्रता लिएको छ । कांग्रेसका सांसद तथा मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले भन्नुभयो, 'एमालेको लालकिल्ला भनिएका धेरै क्षेत्रमा कांग्रेसका लोकप्रिय उम्मेदवार विजयी बन्ने दिशामा अग्रसर छन् ।' उहाँले कांग्रेसले दिएका उम्मेदवार र पार्टी संगठनको एकढिक्का प्रयासले नै विजयमा सफलता मिलेको दाबी गर्नुभयो । कांग्रेसले जहदा गापा र सुनवर्षी नपामा पनि अग्रता लिएको छ ।

एमालेले ०४९ मा भएको आमनिर्वाचन तथा ०५४ को स्थानीय निकायको निर्वाचनमा मोरङको पूर्व-पश्चिम राजमार्ग आसपास र पहाडी भू-भागका सबै गाविसमा जितेको थियो । दोस्रो संविधानसभा निर्वाचन ०७० मा एमालेले निर्वाचन क्षेत्र नम्बर १, २ र ८ मा विजयी भएको क्षेत्रमा पनि कांग्रेसले स्थानीय तहमा जितेको छ ।

'यो पटक सत्ताको दुरुपयोग गर्दै सत्तासीन दलले एमालेलाई कमजोर बनाएका छन्', एमाले सांसद ऋषिकेश पोखरेलले भन्नुभयो, 'कतिपय ठाउँमा हामीलाई चुनाव प्रचार नै गर्न दिएनन् उनीहरूले सुरक्षाकर्मीको आडमा प्रचार गर्दै पैसासमेत बाँडे ।'
एमालेले टिकट वितरण गर्दा गुटगत राजनीतिकलाई प्राथमिकता दिएको र पैसा लिएर उम्मेदवार बनाएको जस्ता आरोप पनि खेप्नुपर्‍यो । राम्रा र सक्षम महिला हुँदाहुँदै फोरम लोकतान्त्रिकसँग गठबन्धन गरेर उपमेयरमा वञ्चित गराएपछि पार्टीको एउटा खेमा नै चुनावमा सक्रिय बनेन ।

नेतृत्वले उम्मेदवार बन्ने भए पैसा मागेको भन्दै मिक्लाजुङ गाउँपालिका एक जना पुराना नेताले एमाले नै छाडेको घोषणा गरे । सिफारिसमा परेर पनि उम्मेदवार नबनाइएका सुन्दरहरैंचाका उम्मेदवारले पत्रकार सम्मेलन गरेरै विरोध जनाएका थिए । विराटनगर महानगरकै वडामा अध्यक्ष पदका उम्मेदवार छनोट गर्दा वर्तमान नेतृत्व हाबी भएको भन्दै कडा आलोचना भयो । वडा नम्बर ७ मा वडाध्यक्षमा सिफारिस भए पनि टिकट नपाएका चन्दु धाडेवाले भन्नभयो, 'टिकट दिन नेतृत्वले पैसाको समेत चलखेल गर्न थालिएपछि मैले पार्टी नै छाडेर संघीय समाजवादीबाट टिकट लिएर चुनावमा उठ्नुपर्‍यो ।'

Related Posts: