राप्रपा निकट विद्यार्थी सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पाठ्य पुस्तकमा पृथ्वीनारायण शाह र भगवान गौतम बुद्धको तस्वीर राख्न माग गरेको छ ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राप्रविसंले अब प्रकाशित हुने हरेक पाठ्यपुस्तकको अग्रिम पेजमा पृथ्वीनारायण र शान्तिका दूत भगवान गौतम बुद्धको तस्बीर राख्न माग गरेको हो ।यसअघि माउ पार्टी राप्रपाले नोटमा पृथ्वीनारायण शाहको तस्विर राख्न माग गरेको थियो । ‘राष्ट्र निर्माताको अपहेलना कुनै देशमा हुन्छ भने त्यो यही देश हो जहाँ राष्ट्र निर्मातालार्इ सम्झन पनि लायक ठानिदैन,’ महासचिव राज बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
गणतन्त्रको उदय पश्चात राष्ट्रनिर्मातालाई पनि सामन्तकै टोकडीमा मात्र सीमित गरिएकोमा राप्रविसंले आपत्ति समेत जनाएको छ । साथै आगामी पुस्तामा नेपालीमा रहेको बुद्धत्व, वीरता र गौरवपूर्ण इतिहासको गाथा उत्तिकै सम्मानमा राख्न र राष्ट्र निर्मातालाई हरेक ढुकढुकीमा पुर्याउन पाठ्यपुस्तका माध्यमबाट देशव्यापी रूपमा जागरण गर्नु तट्कारो आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘राष्ट्रिय एकता र राष्ट्रियता कमजोर भएको र राष्ट्र निर्मातालाई इतिहासमा विलिन गराउने चलखेल भएकाले हराउँदै गरेको इतिहास र वीरताको सम्मानलाई राप्रविसं फर्काउन चाहान्छ,’ विज्ञप्तिमा भनिएको छ ।
संगठनले राप्रविसंको जोस, विद्यार्थी लोन कोष खुबीको समीक्षा, इच्छाअनुसारको शिक्षा रोजगारीको साँचो, प्राविधिक शिक्षाको खाँचो राप्रविसंको जोसजस्ता नाराका साथ विद्यार्थीलाई निःशुल्क स्वास्थ्य उपचारको पनि माग गर्दै आएको छ ।