असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली रमाइला नेता हुन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले टोपी लगाइने फरक-फरक शैलीकै आधारमा नेपाली समुदायमा कसरी जात छुट्याउने कुप्रथा थियो भन्ने उदाहरण प्रस्तुत गरे । ओलीले विभिन्न जातिको जस्तो देखिने गरी अभिनय नै गरेपछि कार्यक्रममा हाँसो छायो ।
‘नेपालमा केही वर्षअघिसम्म टोपी लगाएर मान्छेको जात र हैसियत थाहा हुन्थ्यो’ ओलीले भने- म बाहुनको छोरो, मैले यसरी (अभिनय गर्दै) टोपी लाउनु हुदैनथ्यो, यसरी टोपी निधारको तलसम्म (आँखीभुइँ छोपिने गरी) लगायो भने त्यो बाबु साहेब, काजीसाहेब हुन्थ्यो । बाबु साहेब भनेर नमस्कार गर्नुपथ्र्यो ।’
ओलीले अगाडि भने- ‘टोली अलि माथि लगायो भने बाहुन पण्डित हुन्थ्यो । ए पण्डित बाजे भनेर बोलाइन्थ्यो । अलि माथि लगायो भने व्यापारी साहुजी हुन्थ्यो । अनि कच्याक कुच्चुक पारेर लगायो भने दलित भनेर बुझिन्थ्यो । उसलाई ओइ तेरो घर कता भनेर बोलाइन्थ्यो । यसरी टोपी लाएका भरमा मान्छेलाई व्यवहार गरिन्थ्यो ।’
भूमिजा मानव अधिकार मञ्चले विहीबार ओलीलाई मधेसबारे मन्थन गर्ने मञ्च दिएको थियो । यसक्रममा ओलीले करीव सवा घण्टाको प्रवचन दिए । एमाले अध्यक्ष ओलीले नेपाली समाजमा टोपीको उदाहरण दिनुभन्दा पहिले भारतीय समाजको कुरो गरे । उनले भारतको उदाहरण दिँदै यसो भने- ‘दक्षिण भारतमा जाँदा मैले दुईथरी मान्छे देखेँ । एउटाले गम्छा काँधको दुवैतिर पारेर भिरेको थियो । अर्कोले काँधको एकातिरमात्रै झुण्ड्याएको थियो । मैले यो के हो भनेर सोधेँ । त्यहाँ मलाई भनियो- दुईतिर पारेर गम्छा लगाउने धनी हो, एकातिर पारेर लगाउने दलित हो ।’