कार्तिक ४, २०७४-सातौंपटकको नेपाल भ्रमणमा मलेसियाका लो ले यसपटक पोखरामा भाइटीका लगाए । उनीसँगै पहिलोपटक नेपाल आएकी मिङले पनि टीका लगाइन । पश्चिमाञ्चल होटल संघ पोखराले यस क्षेत्रमा आइपुग्ने पर्यटकलाई नेपाली संस्कृतिसँग साक्षात्कार गराउने उदेश्यले सामुहकि भाइटीका कार्यक्रम गर्दै आएको छ । यसपटक शनिवार बैदामको बटरफ्लाइ चाइल्ड केयर सेन्टरमा आयोजित भाइटीका कार्यक्रममा मलेसियाका लो र मिङ जसरी नै अमेरिका, जर्मनी, चीन, बंगलादेश र फ्रन्सका ३५ जना पर्यटक सहभागी भए । उनीहरूले रेन्बो चिल्ड्रेन होमका बालिकाहरूबाट टीका थापे । टीका लगाइदिनेलाई दक्षिणा मात्र दिएनन् बालबालिकाको देउसीभैलोमा सँगै गाउँदै नाचे । ‘यो हाम्रो ११ औं पटकको भाइटीका हो,’ आयोजक संघ अध्यक्ष विकल तुलाचनले भने, ‘हामीले तिहारका बेला पोखरामा रहेका पर्यटकका लागि यस्तो कार्यक्रम गर्दा उनीहरूले खुसी मान्छन् ।’ त्यसो त पोखरामा असार १५ र फागुपुर्णिमामा पनि पर्यटक रिझाउने कार्यक्रम गरिन्छन् । दसैं अघिसम्म पर्यटकको चाप रहेको पोखरामा अहिले आगमन दर केही कम भएको छ । ‘अकुपेन्सी रेट घटेको छ,’ अध्यक्ष तुलाचनले भने, ‘तुलनात्मकरूपमा आन्तरीक पर्यटकको आगमन दर उत्साहजनक छ तर, हामीले विदेशी पर्यटकलाई आकर्षित गर्न अझै केही गर्नुपर्ने आवश्यकता देखिन्छ ।’ साना ठूला करीब एक हजार होटल रहेको पोखरा महानगरमा यतिबेला स्तरीय अधिकांश होटल र गेस्टहाउसमा आधामात्रै कोठामा पाहुना रहेको संघले जनाएको छ ।