ती आधारभूत मूल्य र मान्यताकै लिकमा सम्बन्ध परिभाषित हुनुपर्छ, राजनीति चल्नुपर्छ, चलेन भने त्यस्तो राजनीति स्थायी हुँदैन ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


आश्विन २०, २०७४-राजनीतिक समीकरणमा अकस्मात ठूलो फेरबदल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अर्थात् प्रचण्डले फेरि कित्ता फेरेका छन् । फेरि किन भनेको भने उनी एक ठाउँमा दिगो बस्नै सक्दैनन् । चराको गँुड बरु दिगो हुन्छ, उनको हुँदैन । उनी कहिले यो पाखो त कहिले ऊ पाखो गरिरहेका हुन्छन् । दिल्ली पुग्दा दिल्लीकै, बेइजिङ पुगे त्यतैका हुन्छन् । तर विचित्र के भने जहाँ केही समय बस्छन्, त्यो ठाउँ छोड्दा त्यहाँ क्षति नगराई छाड्दैनन्, विचल्ली बनाएर छाडिदिन्छन् । आफू प्रधानमन्त्री बन्ने लालचमा केपी शर्मा ओलीलाई छाडेर उनले शेरबहादुर देउवालाई समाएका थिए । जाँदाजाँदै ओलीले त्यतिखेर अरुणा लामाको गीत सम्झेका थिए । तर यतिखेर दाहालले फेरि कित्ता फेरेपछि देउवा बिचरा कुनै गीत सम्झन त परै खासै बोल्न पनि सकिरहेका छैनन् ।

यसमा दुई मत छैन, दुनियाँमा औसत किसिमका मानिसको ठ्याक्कै दाहालकै जस्तो स्वभाव हुन्छ । तिनका सम्बन्धहरू निहित स्वार्थमा आधारित हुन्छन्, तात्कालिक लाभको लोभमा नजिकिने र फेरि अर्काले लोभ देखाए त्यतै लहसिने । पछिल्लो समयमा उनले जति मिठो गरी भाषण गरे पनि, देशको समृद्धि र उन्नतिबारे उम्दा शब्द चयन गर्दै बोले पनि दाहाललाई दुर्भाग्यवश एउटा औसत र सत्ताका लालची मानिसकै रूपमा चिन्न थालिएको छ, यद्यपि यसपालि दाहाल बृहत् वाम एकताको कलेवरमा कांग्रेसलाई छाडेर एमालेको शिविरमा प्रवेश गरेका हुन् । हुनसक्छ, उनी गम्भीर नै छन्, तर उनले जतिसुकै परिपाठ पारेर बोले पनि धेरैजसोले बृहत् वामपन्थी एकताको तर्कलाई गम्भीरतापूर्वक लिएका छैनन् । घटना गम्भीर र दूरगामी महत्त्वको हो, तर दाहालको ढोका–ढोका चहारिरहने प्रवृत्तिका कारण एमालेसँग चुनावी तालमेलसम्म पत्याए पनि एकतै भइहाल्ला भनेर कमैले मात्र पत्याएका छन् ।

Related Posts: