प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मुखैमा गत साता मंगलबार एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले चुनावी गठबन्धनका साथै एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेपछि नेपालको राजनीतिमा व्यापक तरंग आएको छ । यो घोषणा वाम एकतामा सीमित छैन । यसको घोषित उद्देश्य एउटै कम्युनिस्ट पार्टी निमार्ण गर्ने हो । त्यसैले यहाँ मैले वाम एकता नभनी ‘कम्युनिस्ट एकता’ शब्दावली प्रयोग गरेको छु । नयाँ शक्ति पार्टी सिद्धान्तत: कम्युनिस्ट पार्टी होइन, वामपन्थी धारको हो । तर यसमा गैरकम्युनिस्टले खासै चासो दिएनन् । परिणामत: यो यसका संस्थापक बाबुराम भट्टराई पक्षघर पूर्वमाओवादीको पार्टीका रूपमा सीमित रह्यो ।
निकै सर्तकतासाथ भित्रभित्रै भइरहेको यो प्रयास जब सार्वजनिक भयो, राजनीतिक तहल्का नै मच्चिएको छ साथै यसले अब नेपाल कम्युनिस्टमय हुने हो कि भन्ने राष्ट्रिय–अन्तर्राष्ट्रिय चासो पनि व्यापक भएको छ । नेपालस्थीत अन्तर्राष्ट्रिय समुदाय पनि चकित भएका छन् । यसले पार्ने तत्कालीन र दीर्घकालीन प्रभावको विश्लेषण गर्न उनीहरू व्यस्त छन् । हुन पनि विश्वभर कम्युनिस्टहरू ह्रास भइराखेको अवस्थामा नेपालमा भने उनीहरू फस्टाइरहेका छन् । २०४८ सालको चुनावदेखि नै नेपाली मतदाताको ठूलो हिस्सा कम्युनिस्ट पार्टीका पक्षमा रहँदै आएको छ । २०६३ को परिवर्तनपछि पहिलो संविधानसभामा कम्युनिस्ट पार्टीहरूको कुल उपस्थिति ६० प्रतिशतभन्दा माथि पुगेको थियो । दोस्रो संविधानसभा अर्थात् अहिलेको रूपान्तरित व्यवस्थापिका–संसद्मा कम्युनिस्ट र गैरकम्युनिस्टको उपस्थिति करिब बराबर छ । अहिलेको यो घोषणा र चुनावी तालमेलले नेपालमा पूर्ण बहुमतसहितको कम्युनिस्ट शासन प्रशासन हुने त होइन भन्ने अनुमान र आशंका पनि चल्न थालेको छ ।