भिडियो सहित हेर्नुहोस !
Advertisement
गैरआवासिय नेपाली संघ (एनआरएन)को अध्यक्षमा जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छिन्। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी गुरुङले आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्। शनिबारदेखि सुरु हुन लागेको संघको आठौं विश्व सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ।गुरुङ संघको वर्तमान कार्यसमिति अध्यक्ष शेष घलेकी श्रीमति हुन्। घलेले संघको दुई कार्यकाल नेतृत्व सम्हालेका छन्।
घले दम्पती अष्ट्रेलियमा सफल व्यवसायीका रुपमा स्थापित भइसकेका छन्। अष्ट्रेलियाका धनाढ्यको सुचीमा उनीहरु १०१ स्थानमा छन्। फाइनान्सियल रिभ्यूका अनुसार उनीहरुको सम्पती ६४ करोड ७० लाख बराबर छ।
श्रीमानसँग अष्ट्रेलियामा गएकी गुरुङ बिजनेश मार्केटिङ अध्ययनपछि व्यवसायमा संलग्न भएकी थिइन्। उनी अष्ट्रेलियाको एमआइटी कलेजकी कार्यकारी निर्देशक हुन्।
‘विश्वभरीबाट आउनुभएका एनआरएन डेलिगेट्सको आग्रह एवं संघका मुख्य स्टेकहोल्डरको विश्वास र अपेक्षालाई निरन्तरता दिन अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकी छु' उनले भनिन्।
विगत चार वर्षदेखि संघमा जोडिएर काम गर्दा संस्थाका अवसर र चुनौती नजिकबाट नियाल्ने मौका पाएको उनले बताइन्। संस्थालाई सांगठनिक रुपले बलियो बनाई गैरआवासिय नेपालीका माग र अपेक्षा पुरा गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न खोजेको उनको भनाई छ।
गुरुङले आफ्नो उम्मेदवारीलाई संकिर्ण नजरले नहेरी एउटी नारीले संस्थाको नेतृत्वका लागि देखाएको सकरात्मक पहलको रुपमा हेरिदिन आग्रह गरेकी छिन्। 'कर्म नै धर्म हो, म कर्ममा विश्वास गर्छु' उनले भनिन्, ‘मेरो कर्मलाई हेरेर भोट हालिदिनुस्।
'श्रीमानले संस्थाको नेतृत्व सम्हालिसकेपछि मेरो पनि नेतृत्वको अवसर सकियो भन्ने स्वीकार्न नसक्ने बताउँदै उनले व्यवसायिक रुपमा आफै संघर्ष गरेर अगाडि बढेको बताइन्।
‘म गाउँमै हुर्किएँ, घाँस दाउरा पनि गरेँ, म दुख गरेरै हुर्किएकी हुँ, अष्ट्रेलियाजस्तो प्रतिस्पर्धी समाजमा आफुलाई महिला उद्यमीका रुपमा आफुलाई उभ्याउन सफल भएँ, व्यवसाय र समाजसेवामा जहिल्लै आफ्नै पहिचानमा उभिन रुचाएँ र अहिलेसम्म पनि त्यही गरिरहेकी छु' गुरुङले भनिन्, 'यसैलै संकिर्ण नजरले नहेरी सहयोग गरिदिनुस्।'
आफू संस्थाको सफल नेतृत्वदायी भूमिका लागि योग्य रहेको उनले दाबी गरेकी छिन्। व्यवसायमा पाएको सफलताले संस्थाको नेतृत्व सम्हाल्ने आँट आएको उनको भनाई छ।गुरुङले संस्थाको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिनुका ११ बुँदा अगाडि सरेकी छिन्।
गैरआवासिय नेपालीका माग र अपेक्षा पुरा गर्न, संघका मुख्य स्टेक होल्डरको विश्वास र अपेक्षालाई निरन्तरता दिन, महिला सशक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डको रुपमा स्थापित गर्न, चुस्त र सक्षम नेतृत्व प्रदान गर्न, संघलाई पारदर्शी रुपमा अगाडि बढाउन आफुले नेतृत्वदायी भूमिका निभाउन लागेको उनले बताइन्।
यसैगरी, एनआरएनले निर्माण गरिरहेका मेगा परियोजनालाई समयसीमाभित्र सम्पन्न गराउन, संस्थाको मार्गदर्शक दृष्टिकोण ‘भिजन २०२० एन्ड बियोन्ड'लाई सफल कार्यान्वयन गर्न, संघका हरेक एनसीसीलाई आर्थिक कुटनीतिक भूमिका निर्वाहा गर्न र नेपाललाई समृद्धिको बाटोमा इटा थप्ने कममा प्रोत्साहित गर्न, बैदेशिक रोजगारीमा गएका महिला श्रमिक बर्गको हितमा काम गर्न र संघको दिगो विकासलाई सुनिश्चित गर्न आफुले उम्मेदवारी दिन लागेको गुरुङले जानकारी गराइन्।
यसअघि नै संघको अध्यक्षका लागि उपाध्यक्ष भवन भट्ट र पूर्वउपाध्यक्ष टिबी कार्कीले उम्मेदवारी घोषणा गरिसकेका छन्। शेष घले पक्षधर एनआरएनको तिब्र दबाबपछि जमुना अध्यक्षमा उठ्ने निर्णय गरेको बताइन्छ।
'संस्थामा नेतृत्व चयन प्रजातान्त्रिक प्रकृया हो, मतदाताले दिएको मत नै अन्तिम सत्य हो, यसैले कसैलाई नेतृत्वमा आउने चाहानालाई निषेध गरिनु हुँदैन' उनले भनिन्, ‘यो प्रकृयामा सबै प्रतिस्पर्धी साथिहरु स्वस्थ ढंगले प्रस्तुत हुनुहुनेछ भन्ने विश्वास छ।'