आश्विन २१, २०७४-एमाले उपाध्यक्ष वामदेव गौतम प्युठानबाटै चुनाव लड्ने भएका छन् । शुक्रबार बसेको एमाले जिल्ला कमिटीको बैठकले प्युठानबाटै प्रतिनिधिसभाका लागि उम्मेदवार बनाउन सिफारिस गरेको हो ।
बैठकमा जिल्ला पार्टी अध्यक्षले गौतमले यसपालि पनि प्युठान आउने चाहना राखेको जानकारी गराएपछि उनको एकल सिफारिस गरेको सचिवालय सदस्य डिलाराम थापाले बताए । ‘जिल्ला अध्यक्षसँगको टेलिफोन कुराकानीमा गौतमले प्युठान छाडदिनँ भन्नुभएको रहेछ,’ थापाले भने, ‘त्यसैले नाम सिफारिस गरेका हौं ।’ बर्दियाबाट निर्वाचन लडदै आएका गौतम २०७० को संविधानसभामा प्युठान १ नम्बर क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका थिए । त्यो निर्वाचन र त्यसयताका विभिन्न कार्यक्रमहरूमा उनले जन्म जिल्लामा सधैंका लागि फर्केको बताउँदै आएका छन् । यसपालि गौतमको बर्दिया १ बाट समेत प्रतिनिधिसभामा सिफारिस भएको छ ।