भाद्र २५, २०७३- उनले सुरुमै भनिन्, ‘मेरो नाम नछापिदिनुहोला ।’झन्डै दुई दशक देहव्यापारमा बिताइन् । एउटा छोरा जन्मियो । अहिले नाति नातिना भइसके । तर, बाबुको नाम खुलेन । ‘नाम पाएको भए मेरो छोरा अर्कै हुन्थ्यो,’ ४८ वर्षीया उनी भन्छिन्, ‘के गर्नु ? ‘राजा’ले स्विकारेनन् । ऊ बादीको बादी नै रह्यो ।’
उसले ‘बाबुको नाम नखुलेको’ विवरणसहितको आमाको नामबाट नागरिकता पाएको छ । १२/१३ वर्षकी भएबाटै उनी बुबाआमासँग हिंड्न थालिन् । बुवा मादल बजाउँथे । आमा गीत गाउँथिन् । अनि, उनी निकै राम्रो नाच्थिन् । जब १५ वर्षकी भइन्, नाचमा मात्र हैन, उनको जवानीमा पनि धेरैले आँखा लगाउन थाले । यी किशोरीको कुमारीत्वको मोलमोलाइ हुन थाल्यो । एउटाले सबैभन्दा धेरै ‘बोली लगायो’ । बाबुआमा मन्जुर भए । त्यसपछि उनी पारिवारिक सहमतिमै बलात्कृत भइन् ।