नवलपरासीको मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्रराज घिमिरेलाई कालो मासो लगाएको आरोपमा नेकपा (विप्लव समूह) का दुई जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । गत बुधबार कार्यालय समयमा पुगेका नेकपाका तीन कार्यकर्ताले मालपोत अधिकृत घिमिरेलाई कालो मोसो दलेका थिए ।कार्यालय प्रमुख घिमिरले जग्गाका प्रकृतिलाई फेरबदल गरी राजश्व रकम कम गरी उक्त रकम आफूले लिने गरेको, ३० लाख बढीको थैली लाग्ने जग्गाको मूल्य घटाएर सो वापतको रकम आफूले लिने गरेको र रकम नलिई कसैको पनि काम नगर्ने गरेको जस्ता आरोप लगाउँदै कालो मोसो लगाइएको जिल्ला जनपरिषद् (जनसत्ता) को नाउँबाट जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।
कालो मोसो लगाएको आरोपमा नेकपाका जिल्ला,सचिव चित्तलसिंह राना ( देवचुली नगरपालिका–१ सुनाघाट) र जिल्ला सदस्य प्रेम ढकाल (सुनवल नगरपालिका–१३ रामनगर) लाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले बताए । शुक्रबार पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यालय र शनिबार बिहान पक्राउ परेका रानालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
कानुन हातमा लिएर कार्यालय प्रमुखलाई कालो मोसो लगाउने दुवै जनालाई सार्वजनिक अपराधमा मुद्दा चलाउने तयारी गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए ।