भाद्र ३०, २०७४-रोल्पा नगरपालिकाको पहलमा सदरमुकामस्थित टुडिखेललाई पार्क बनाउने योजना अघि सारिएको छ । हालसम्म टुँडिखेललाई बस पार्कका रूपमा प्रयोग गरिंदै आएकामा स्थानीय मागपछि हरियाली बनाउने हिसाबले टुडिखेलको स्वरूप फेर्न थालिएको हो
नगर प्रमुख पूर्ण केसीले टुँडिखेललाई फोहोरबाट र बजारको सुन्दरतालाई जोगाउन पार्क बनाउने अवधारणा अघि सारिएको बताए । ‘एक महिनाभित्र सानो खेल मैदानसहितको पार्क बनाउने अभियानमा जुटेका छौं ।’ यसका लागि कति खर्च लाग्ने भन्नेबारेमा निक्र्यौल नभएको उनले बताए । पार्कभित्र कुनै पनि गाडी लैजान रोक लगाइने उनले बताए । नगरपालिकाका अनुसार जिल्ला प्रवेश गर्ने मुख्यस्थलमै फोहोरको वृद्धि भएको तथा जिल्लामै हरियालीसहितको पार्क नभएकाले नगरपालिकाको पहलमा पहिलो पटक पार्क निर्माणको सोचाइ अघि सारिएको हो । पार्कको छेउतिर रुख रोप्ने योजना रहेको छ । यसअघि साबिकको जिल्ला विकास समितिले समेत पार्क निर्माण गर्ने अवधारणा अघि सारेको थियो ।
बसपार्क प्रयोगमा ल्याइने
टुँडिखेललाई पार्क बनाउने भएपछि अब दुईवटै बसपार्कमा पार्किङ गर्नुपर्ने निर्णय गरिएको छ । यसअघि रेउघा र सोलाबाङमा अलग अलग बसपार्क निर्माण गरिएको छ । ठूलो लगानीमा ती दुई बसपार्क निर्माण गरिएको हो । नगर प्रमुख केसीले दुवै बसपार्कमा गाडी राख्न लगाउने योजनामा रहेको बताए ।
जिल्लामै सुविधायुक्त बसपार्क निर्माण गर्ने योजनाले साविकको जिल्ला विकास समिति रोल्पाले सदरमुकाम लिबाङकै रेउघामा बस पार्क निर्माण गर्ने क्रममा ३७ लाखभन्दा बढी लगानी गरिसकेको छ । स्थानीयले उपलब्ध गराएको करिब ३३ रोपनी जमिनमा बसपार्क बनाउन आवश्यक पूर्वाधार निर्माण गर्न योजना समेत सञ्चालित छ । तर बसपार्क निर्माण गर्ने क्रममा केही स्थानीयबाट बाधा उत्पन्न गरिएपछि उक्त कार्य बीचैमा रोकिएको थियो । जग्गा विवादसम्बन्धी मुद्दाबारे अदालतबाट अन्तिम फैसला भएपछि पुन: यसै स्थानमा बसपार्क बनाउन नगरपालिकाले पहल थालेको हो ।
जिल्ला समन्वय समितिका सूचना अधिकारी रामकुमार न्यौपानेले रेउघास्थित बसपार्क बनाउन पटक पटक गरी करिब ३७ लाख जति बजेट खर्च भइसकेको बताए । ‘कहिले विवाद र कहिले अन्य समस्याले उक्त योजना अझैसम्म सफल बनाउन सकिएको छैन ।’ न्यौपानेले भने । उनले नगरपालिकाले चाहेमा अब चाँडै बसपार्क निर्माणको टुंगो लाग्न सक्ने बताए ।
उता लिबाङकै सोलाबाङमा आफ्नै लगानीमा बस पार्क बनाउँदा जलजला बस व्यवसायी समितिले ३१ लाखभन्दा बढी खर्चेको छ । व्यवसायीको आफ्नै लगानी र योजनामा स्थानीयबाट जग्गा खरिद गरेर उक्त बसपार्क करिब दशकअघि निर्माण गरिएको थियो । एकातिर यातायात व्यवसायी समितिले आफ्नै लगानीमा बसपार्क बनाउन पहल थाल्यो भने अर्कातिर व्यवसायीकै लागि सुविधा पुर्याइदिन सरकारी निकायले ठूलो लगानीमा बस पार्क निर्माण योजना अघि सार्यो ।
बसपार्क बनाउन निजी र सरकारी लगानीमा करिब ७० लाख खर्च भइसके पनि एउटै बसपार्क निर्माण भएको छैन । बसपार्क नबन्दा एकातिर अस्तव्यस्तता बढेको छ भने ठूलो लगानी खेर गएको छ । अब ती दुई वटै बसपार्कमा यातायातका साधन पार्किङ गर्न प्रहरीले व्यवसायीसँग आग्रह गर्दै आएको छ । यसअघि सदरमुकाम लिबाङको टुडिखेललाई नै सरकारी एवं निजी सवारी साधनको साझा ‘पार्किङ स्थल’ का रूपमा मानिँदै आइएको थियो ।
जलजला बस व्यवसायी समितिले आफ्नै खर्चमा निर्माण गरेको सदरमुकाम लिबाङभित्रैको सोलाबाङ बसपार्क खासै फराकिलो छैन । सदरमरमुकाम बाहिरै रहेको रेउघा बसपार्कमा सवारी साधन राख्दा असुरक्षित हुने दाबीले समितिले सोलाबाङमा बस पार्क निर्माण गर्ने योजना अघि सारेको थियो । ‘सानै भएपनि सवारी साधन राख्दै आएका छौं । तर वर्षाको समयमा सवारी साधन त्यहाँसम्म लैजान सकिन्न । वर्षामा सबै सवारी साधन टँुडिखेलमै राख्नुको विकल्प थिएन । अब त्यसबारे सोचियोस् ।’ समितिका बुकिङ इन्चार्ज यज्ञश्वर आचार्यले भने । उनका अनुसार सरकारले उक्त बसपार्क निर्माण गर्न सहयोग गरेको छैन । उल्टै सुरक्षा र मर्मतको व्यवस्था गर्दा समिति वर्षेनी घाटामा जाने गरेको उनले दाबी गरे ।