स्थानीय प्रशासनले धरानमा राति १० बजेपछि होटल तथा रेस्टुराँ, डान्स बार सञ्चालन गर्न रोक लगाएको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शान्ति–सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने भन्दै राति होटल सञ्चालनमा रोक लगाइएको हो । व्यवसायका नाममा रातभर होटल सञ्चालन गरी मादक पदार्थ बिक्रीवितरण गर्दा शान्ति–सुरक्षामा खलल पुग्नुका साथै चोरी, डकैतीदेखि व्यक्ति हत्यासम्मका घटना हुन सक्ने प्रहरीले जनाएको छ ।
धरान इलाका प्रहरीका डीएसपी रामेश्वर पौडेलले झैझगडादेखि आपराधिक क्रियाकलापका घटना हुन सक्ने भएकाले राति १० बजेपछि होटल सञ्चालन गर्न रोक लगाएको जानकारी दिए । १० बजेपछि पनि होटल सञ्चालन गरे सञ्चालकलाई कारबाही गर्ने डीएसपी पौडेलले बताए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले धरान लागूऔषध कारोबारी र सेवनकर्ताका कारण पनि असुरक्षित हुँदै गएको उल्लेख गर्दै रातभर होटल सञ्चालन गर्दा आगामी निर्वाचनलाई असर पुग्न सक्ने भएकाले रोक लगाएको सुनाए । आसन्न निर्वाचन सफल बनाउने दायित्व सबैको भएकाले शान्ति–सुरक्षा मजबुत बनाउन सहयोग गर्न उनले राजनीतिक दलका नेता तथा कार्यकर्तालाई पनि आग्रह गरेका छन् ।
राति १० बजेपछि होटल सञ्चालनमा रोक लागेपछि व्यवसायीले आपत्ति जनाएका छन् । होटल एसोसिएसन धरानका कोषाध्यक्ष कृष्ण पाठकले धरान पर्यटकीय क्षेत्र भएकाले पारिवारिक रेस्टुराँ तथा लज भने निर्वाध रूपमा सञ्चालन गर्न पाउनुपर्ने माग गरे ।