अन्तर्राष्ट्रिय स्तरको सैन्य ताालीममा २८ देशका सेनालाई पछि पार्दै नेपाली सेनालाई स्वर्ण पदक

भिडियो सहित हेर्नुहोस !
Advertisement


युद्धकालीन बिशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबिधि समेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन गरिने क्रममा नेपाली सेनाको टोली अब्बल भएको हो।

अत्यन्त कठिन भौगोलिक ईलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित लगभग ५० किलोमीटर दूरी पार गर्ने क्रममा सहभागी टोलीको लडाईको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानहरू सम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाईते–बिरामीको ब्यबस्थापन, बिस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमता लगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका अनेकन दक्षताहरूको परीक्षण गरिएको थियो।

संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका १११ र नेपाल समेत अन्य २८ देशका गरि कूल १३९ सैन्य टोलीहरूको सहभागिता रहेको थियो । उक्त अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व श्री गोरखबक्स गण तथा श्री विशेष फौज बाहिनीका टोलीले गरेको थियो ।

प्रतिस्पर्धात्मक अभ्यासमा भाग लिने अन्य राष्ट्रको फौज मध्ये करिब ३३ प्रतिशत सहभागीहरूले सो अभ्यास पूरा गर्न सकेका थिएनन् । मित्रराष्ट्र बेलायतमा सैनिक युद्धकलाहरुमा आधारित अभ्यास शुरु भएको ५० वर्षभन्दा बढी भईसकेको छ ।

आफूलाई अव्वल प्रमाणित गर्दै स्वर्ण पदक जित्न सफल हुनुले अन्तर्राष्ट्रिय जगत्मा नेपाल र नेपाली सेनाको प्रतिष्ठा थप उच्च हुनुको साथै मित्रराष्ट्र बेलायत लगायत अन्य सहभागि सेनाबीच रहेको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ भएको विश्वास नेपाली सेनाले लिएको छ।