जसले आँखै अगाडि शरद गौचन ढलेको देखे…

भिडियो सहित हेर्नुहोस !
Advertisement


२३ असोज, काठमाडौं । भरत रम्तेलको मोटरसाइकल वर्कशप छ, नयाँ बानेश्वरको शान्तिनगर चोकनजिकै प्रयागमार्ग चोकमा । उनी सोमबार अपरान्ह आफ्नै युआर मोटरसाइकल वर्कशपमा पल्सर बाइक मर्मत गर्दै थिए । उनको वर्कशपकै अगाडि एउटा जीपमा ईंटा प्रहार गर्दै एक युवक ओमशान्ति चोकतिर दौडिए ।किन गाडीमा ढुंगा हानेको होला भनेर हेर्दाहेर्दै पटाका पड्केको जस्तो अवाज आयो । आवाजतिर फर्किंदा गाडीको अगाडि सीटमा बसेका व्यक्तिको टाउको गोली लागेर लत्रिसकेको थियो । बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडीको सिसा क्षतविक्षत भएको थियो भने गोलीले अगाडिकोे सिसामा दुईवटा दुलो पारेको थियो ।

ढुंगा हान्ने व्यक्ति र गोली हान्ने व्यक्ति अलग-अलग बाटोतिर दौडिए । गाडीका चालकले आत्तिएर रुँदै फोन लगाउन थाले । वरिपरि पसलका व्यक्तिहरु जम्मा भएर चालकलाई अस्पतालतर्फ गाडी मोड्नू भन्दै कराउन थाले । त्यतिञ्जेल घरका मान्छे पनि अर्को गाडी लिएर आइपुगे ।

करीव ५/७ मिनेट चलेको यो अत्यासपछि पत्ता लाग्यो, गाडीभित्रै गोली लाखेर लत्रिसकेका व्यक्ति सोही टोलका बासिन्दा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन रहेछन् ।

दुई गोली लागेर अत्यधिक रक्तश्राव भइसकेको अवस्थामा गौचनलाई अर्को गाडीमा राख्न नमिल्ने भएकाले सोही गाडीमा सिभिल अस्पतालतर्फ लगियो ।

अस्पताल पुर्‍याएको केहीबेरमै खबर सनसनी बन्यो- गोली लागेका शरद गौचनको मृत्यु भयो ।

घर र घटनास्थलको दूरी

एक मिनेटभित्र गाडीमा अगाडिबाट गाडीमा ढुंगा हान्ने र छेउबाट लगत्तै गोली हान्ने दुवै घटना गराएर मास्क लगाएका दुई आक्रमणकारी फरार भइसकेका थिए । त्यो क्षण सम्झिँदै रम्तेलले अनलाइनखबरसँग भने- के भएको हो भन्ने सोच्न नपाउँदै गौचन ढलिसकेका थिए ।

अपरान्ह ३ बजे शान्तिनगर चोकस्थित घरबाट बाहिर निस्किएका निर्माण व्यवसायी गौचनमाथि ३ सय मिटर दूरी नकट्दै आक्रमण भएको थियो । गौचनको घर भएको ओम शान्ति चोक र हत्या भएको प्रयागमार्ग चोकबीचको दूरी मुस्किलले तीन सय मिटर पनि छैन ।

सर्वोच्चका न्यायाधीशको घर छेउमै गोली चल्यो

यी दुई चोकको बीचमा अर्थात गोली लागेको चोकमा पुग्न २० मिटरजति अगाडि सर्बोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको घर छ । उनको घरमा नेपाल प्रहरीको एउटा डफ्फा सुरक्षामा खटिएको छ । गोली चलेका बेला पोष्टको ड्युटीमा थिए प्रहरी जवान-टेकबहादुर शाही ।

अनलाइनखबरकर्मीसँग कुरा गर्दै शाहीले भने- म पोष्टमा थिएँ । अरु साथीहरु भित्र क्यारेमबोर्ड खेल्दै थिए । एक्कासी पटाका पड्किएको आवाज आयो । लगातार दुईपटक पड्किएपछि पटाका होइन जस्तो लाग्यो । हामी दौडिएर चोकमा पुग्दा मान्छेको भीड जम्मा भइसकेको थियो, गोली लागेका व्यक्ति लल्याकलुलुक भएर मुन्टो तल झरिसकेको थियो ।

Related Posts: