अल इण्डिया रेडियोमा गीत रेकर्डिङ गरेको एक दुई दिनपछि धुस्वाँ सायमीज्यूले फेरि अर्को खुशीको कुरा सुनाउनुभयो । उहाँले दिल्लीको दूरदर्शन टिभीमा गीत सुटिङका लागि तारतम्य मिलाइसक्नुभएको रहेछ । दिल्लीका लेखक र साहित्यकारको बृतमा उहाँको गतिलो सम्बन्ध नभएको भए यो सबै सम्भव हुँदैनथ्यो ।
दूरदर्शनका कर्मचारीले मलाई दौरासुरुवाल र टोली लगाएर आउन भने । अनि भने, ‘नेपाल झल्किने कुनै हिमाल, मठमन्दिर आदिको तस्वीर वा पेण्टिङ केहि छ भने लिएर आउनू ।’ गीतको बीचबीचमा त्यो देखाउन पाए राम्रो हुन्छ भन्ने उनीहरुले सल्लाह दिए ।
त्यत्तिकै दिल्ली घुम्न आएको मसँग दौरासुरुवालसमेत थिएन । त्यसो त नेपाल छँदा पनि मेरो दौरासुरुवाल लगाउने बानी थिएन । धुस्वाँ सायमीज्यूले नै दूतावासका कर्मचारीमार्फत एकजोर दौरासुरुवाल र नेपालका तस्वीरहरु भएको क्याटलग ल्याइदिनुभयो ।
दूरदर्शनका म्युजिसियनसँग बसेर ‘पहाडको कुनामा बैनी तिम्रो तुनामा मेरो माया गाँठो परेछ लै… लै…’ र ‘म तिम्रो जन्मदिनमा हावा बनी, याद बनी शुभकामना लिई आउनेछु…’ भन्ने दुई गीतको रिहर्सल गरेँ । त्यसपछि आफ्ना सबै लुगा फुकालेँ । दूतावासबाट आएका दौरासुरुवाल लगाएँ । त्यहीँका कर्मचारीले मेकअप गरिदिए र तीनवटा ठूलाठूला क्यामराको अगाडि लगेर उभ्याइदिए ।
मेरो ठीक सामुन्नेमा एउटा टिभीजस्तै मोनिटर थियो । मोनिटरमा ममैले कतै देखेजस्तो, चिनेजस्तो मान्छेको चित्र देखियो । नियालेर हेरेपछि थाहा पाएँ, म आफैं पो मोनिटरमा देखिएको रहेंछु । मैले दायाँ हेर्दा मोनिटरको म ले बायाँ हेर्थ्यो । मैले बायाँ हेर्दा मोनिटरको म ले दायाँ हेर्थ्यो । दायाँबायाँ टाउको हल्लाउँदै, मोनिटर हेर्दै एकैछिन रमाएर बसेँ । त्यो नेपालमा राष्ट्रिय टेलिभिजन सुरु हुनुभन्दा एक दशकअघिको समय थियो ।
एकैछिनमा मोनिटर हेर्न छाडेर मैले आफूले लगाएको दौरासुरुवाल नियालेर हेरेँ । घुँडामा कालो झिँगा बसेजस्तो लाग्यो । निहुरिएर हेर्दा पो थाहा पाएँ, अरु कसैले पहिल्यै चुरोटले सानो प्वाल पारेको रहेछ । अब टिभीमा प्वाल परेको सुरुवाल लगाएको देखिने भयो भनेर मलाई खुबै अप्ठ्यारो लाग्यो । अर्को सुरुवाल फेर्न मसँग कुनै बिकल्प थिएन । उपाय केही नभएपछि प्वाल परेकै सुरुवाल लगाएर दुईवटा गीत मज्जाले गाएँ ।
गीत सकिने बेलामा एउटी उद्घोषिका स्टुडियोमा प्रवेश गरिन् । उनलाई पनि क्यामराले खिचिरहेको थियो । उनले ताली बजाउँदै भनिन्, ‘अच्छा मदनकृष्णजी, आपने तो यह गाना बहुत अच्छा गाया, लेकिन यह गानामा मतलव क्या हे ? जरा आप हिन्दी मे बता दिजिए ना ?’
मैले अकमकाउँदै नेपाली पाराले हिन्दीमा भनें, ‘देखिए मे हिन्दी तो अच्छे तरह समद्धता हुँ । लेकिन बोल्ने मे कुछ गडबड होता हे मेरो कुरा बुझेेर उद्घोषिकाले फेरि भनिन्, ‘कोई बात नहीँ । कोई बात नहीँ । जरा थोडासा बता दिजिए ना ।’
उद्घोषिकाले मलाई सजिलो बनाइदिएपछि मैले सकी नसकी उल्था गरेर अनकनाउँदै भनें, ‘अच्छा इस गानाका मतलव क्या हे कि, पहाडको कुनामा का मतलव हे पहाडके कोने मे । बैनी तिम्रो तुनामा का मतलव हे, अरे बहेनजी तुमारी पुतु मे, हमारा माया गाँठ हो गया ।’
मैले गाएको उक्त गीतसहितको कार्यक्रम दूरदर्शनबाट प्रशारण भएपछि दिल्लीस्थित गोर्खाली पल्टनका नेपालीहरुले रमाइलो मानेर सोही गीत फर्माइस पर्दै पटक पटक प्रशारण गर्न लगाए रे भन्ने कुरा सुनेँ ।
त्यसरी पटक पटक गीत दोहोर्याउन लगाउनुको कारण बेग्लै थियो । गीत राम्रैसँग गाए पनि गीतको भाव हिन्दीमा अनुवाद गर्दा मैले नरमाइलो भुल गरेँछु ।
मैले पहाडको कुनामा का मतलव हे, पहाडके कोने मे, बैनी तिम्रो तुनामा का मतलव, अरे बहेनजी तुमारी पुतु मे, हमारा माया गाँठ हो गया भनेको रहेंछु ।
मैले हिन्दीमा तुनालाई के भनिन्छ भनेर थाहा नपाएकै कारण पुतु शब्दको प्रयोग गरेको थिएँ । किनकि, तुनालाई नेवारी भाषामा पुतु भनिन्छ । तर, यसरी हिन्दीमा नेवारी शब्द मिसिँदा गडबड भएछ । त्यसैले पो गोर्खा पल्टनका जवानहरुले पटकपटक त्यही गीतको फर्माइस गरेका रहेछन् ।
हिन्दी भाषा राम्रोसँग ढंग पुर्याएर बोल्न नजान्दा दिल्लीमा मैले कैयौं अप्ठ्यारा झेलेँ । एकपटक तरकारी पसलमा नेपालकै जस्तो गरेर भनेछु, ‘ओ साहुजी, अदुवा एक मोहोरका दिजिए तो ।
तरकारी पसलेले अदुवा भनेको नबुझेर सोध्यो, ‘क्या अदुवा ?’ मलाई आपत पर्यो । हिन्दीमा अदुवालाई के भन्छन्, थाहा थिएन । केहीबेरपछि अदुवाको थुप्रो नै देखाएर ‘ओ अदुवा..’ भनेपछि साहुजीले बुझे । साहुजीले फेरि सोधे, ‘कितनेका ?
मैले भनेँ, ‘एक मोहरका ।’ हिन्दीभाषीले एक मोहर भनेको बुझ्दैनन् भन्ने मैले हेक्का नै गरेनछु । साहुजीले झर्किँदै भने, ‘क्या एक मोहरका ?’ उ झर्किएको देखेर म झसङ्ग भएँ । खासमा मैले एक मोहर नभनेर एक अठन्नी भन्नुपर्ने थियो ।
नेपालगन्जको मेयरमा राप्रपाका धवल समशेर नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ । पार्टीका केन्द्रीय महामन्त्रीसमेत रहेका डा. धवल समशेर राणाले न…Read More
फागुनमा रेल आउँदैजयनगर, २० असार- नयाँदिल्ली, कोलकाता र भारतका अन्य प्रमुख सहरलाई रेलमार्गले जोड्ने बिहारको जयनगर स्टेसनछेउमै धमाधम नयाँ संरचना निर्माण भइरहेका छन् । भा…Read More