साउदी अरबमाथिको ठूलो हवाई आक्रमण विफल

भिडियो सहित हेर्नुहोस !
Advertisement


साउदी अरबले आफूमाथि गरिएको एक क्षेप्यास्त्र आक्रमणलाई विफल पारिदिएको छ । यो ब्यालिस्टिक क्षेप्यास्त्र यमनबाट प्रहार गरिएको थियो ।

यमनका विद्रोहीहरूले साउदीको राजधानी रियादलाई तारो बनाएका थिए । यमनका शियासमर्थक हूती विद्रोहीहरूले यो आक्रमणको जिम्मेवारी लिएका छन् ।

क्षेप्यास्त्रको अवशेष रियादको अन्तर्राष्ट्रिय विमानस्थलभित्र खसेको थियो ।

समाचार संस्थाहरूका अनुसार, शनिवार रियादका जनताले खासलद अन्तर्राष्ट्रिय विमानस्थलनजिक एक ठूलो धमाका सुने । अधिकारीहरूले कुनै ठूलो हानि नभएको र कसैको पनि ज्यान नगएको बताएका छन् ।

साउदी सरकारका प्रवक्ता तुर्की अल–मालिकीका अनुसार, यमनको राजधानीबाट रियादलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको थियो ।

‘क्षेप्यास्त्रले बस्तीलाई निशाना बनाएको थियो । त्यसलाई साउदीले प्याट्रियट क्षेप्यास्त्रले आकाशमै ध्वस्त पारिदिएको थियो । क्षेप्यास्त्रको अवशेष मानिसहरू नभएको ठाउँमा खस्यो । त्यसैले कुनै हताहती भएन ।’

हूतीको अल–मसीरा च्यानलका अनुसार, क्षेप्यास्त्र रियादभन्दा १२ सय किलोमिटर परबाट प्रहार गरिएको थियो ।

गत जुलाई महिनामा पनि यमनले साउदीमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो र त्यसलाई मक्कानजिक ध्वस्त पारिएको थियो ।

यमनमा विद्रोहीहरूलाई दमन गर्नका लागि साउदीले सहयोग गरेपछि विद्रोहीहरूले साउदीमाथि हमला गरिरहेका छन् ।

यमनको युद्धमा अहिलेसम्म आठ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

Related Posts: