निश्चय पनि दसवर्षे हिंसात्मक गतिविधि रुकुमवासीका लागि बिर्सनलायक छ । सामाजिक–सांस्कृतिक एकताको बीचमा राजनीतिको रङ मिसिनु रुकुम जिल्लाको त्यो लामो अवधि निकै उतारचढाव र सकसपूर्ण रह्यो ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


मगर बाहुल्य पूर्वी रुकुमलाई आदिम सांस्कृतिक थलोको रूपमा चिनिन्छ । मगर खाम यहाँको मुख्य भाषा हो । दुई तिहाइ बढी जनसंख्या मगर बहुल रहेको यहाँका समुदायको जीवनशैली हिमाली संस्कृतिसँग मिल्दोजुल्दो छ । २८ असोजमा कार्यकाल सकिएको व्यवस्थापिका संसद्को विकास समितिले गत भदौ २५ गते स्थानीय तह सञ्चालनसम्बन्धी विधेयकमा जिल्लाहरूको नयाँ वर्गीकरण गर्दा पहिले पहाडी जिल्ला भनेर चिनिने रुकुमलाई विभाजनपश्चात् पूर्वी रुकुमलाई हिमाली जिल्लामा पारिएको छ । वन, पाटन, वनस्पति, जंगल, नदीनाला, तालतलैया, वन्यजन्तु यहाँका मुख्य सम्पदा हुन् । पश्चिम धौलागिरि हिमालय शृङ्खलासँग आबद्ध ७ हजार २ सय ४६ मिटर अग्लो पुथा हिमाल पूर्वी रुकुमको मुकुट मानिन्छ । पुथासँगै ५ हजार मिटरभन्दा अग्ला दोगारी, साम्जाङ, ङिम्कुँ, सिस्ने गरी आधा दर्जनभन्दा बढी हिमाल यहाँ अवस्थित हुनुले पनि पूर्वी रुकुम हिमाली जिल्लाको रूपमा दर्ज भएको पूर्वी रुकुमवासीहरूको दाबी छ । हिमचितुवा, रेडपाण्डा, कस्तुरी, हिमालयन थारजस्ता दुर्लभ वन्यजन्तुका साथै भोजपत्र, धुपी, लौठसल्लाजस्ता बहुउपयोगी वनपैदावारसँगै यार्सागुम्बा, पाँचऔंले, निर्मसी, सतुवाजस्ता मूल्यवान् जडीबुटीले यसै पनि पूर्वी रुकुम प्राकृतिक सम्पदा स्रोतको हिसाबले सम्पन्न हिमाली भेग हो । संरक्षण र पर्यटनलाई एउटै सूत्रमा व्यवस्थापन गर्न सकिएको खण्डमा विकासको दिगोपनालाई मूर्तरूप दिन सकिने विज्ञहरूको राय छ ।



वृत्तचित्र छायांकनका क्रममा लुकुम गाउँ पुगेका पर्यटनकर्मी कुमार चौलागार्इँका अनुसार पूर्वी रुकुम पर्यटनको सम्भावनायुक्त जिल्ला हो । कुमार भन्छन्, ‘प्राकृतिक र सांस्कृतिक सम्पदाको संयोजन गरेर यहाँका बासिन्दाले पर्यटक तान्ने हैसियत राख्न सक्छन् । यसबाट उनीहरूले मनग्ये आम्दानी लिन सक्ने बलियो आधार छ ।’ यहाँ अवस्थित ३ स्थानीय तहको नामकरणले पनि प्राकृतिक र सांस्कृतिक सम्पदाको महत्त्व यसै झल्किन्छ । सिस्ने हिमालको नामबाट सिस्ने गाउँपालिका, पुथा हिमाल र उत्तरगंगा नदीको नामबाट पुथाउत्तरगंगा गाउँपालिका र यस मगर खाम क्षेत्रको प्रसिद्ध परम्परागत भूम्या नाचको नामबाट भूमे गाउँपालिका नाम यसै राखिएको होइन ।



यहाँका बासिन्दा सामूहिकतामा विश्वास गर्छन् । सामाजिक एकताबिना उनीहरू आफ्नो अस्तित्व स्विकार्न सक्तैनन्, चिनारी दिँदैनन् । घरहरू सकेसम्म एकै ठाउँमा समान संरचनामा निर्माण गरिनु, खेतीपातीमा अर्मपर्मको सिद्धान्त अपनाउनु, विकास निर्माणको सवालमा परम्परागत झाराप्रथा कायम राख्नु यहाँको सामाजिक–आर्थिक विकासका सामूहिक गतिविधि हुन् । सिकिस्त बिरामीहरूको नाममा बाटाघाटा र तलाउ सफाइ गर्नु, कुवा–पँधेराको सुधार गर्नु, देवल र धर्मशालाको मर्मतसंभार गर्नु निकै लोभलाग्दो परम्परागत रहनसहन हो । दिवंगत व्यक्तिको नाममा बाटो, चौतारो, बिसाउना, धर्मशाला, गोठ निर्माण गर्नु आफ्नो पुण्य आर्जनको काम ठान्छन् । तरुनीतन्नेरी मिलेर चौपारी तयार गर्छन् । यी विविध आयाम नियाल्दा संस्कृतिसँग विकास निर्माणको काम परम्परादेखि नै यहाँको समाजमा छाप भएर भएर बसेको यसै बुझ्न सकिन्छ ।

Related Posts: