वैज्ञानिकहरुले आगामी १०० वर्ष भित्र मानवजातिले पृथ्वी बाहेकको अर्को वासस्थान नखोजे उनीहरु संसारबाट लोप हुनसक्ने चेतावनी दिएका छन् । त्यस्तो डरलाग्दो चेतावनी दिने वैज्ञानिक हुन् – चर्चित बेलायती भौतिकशास्त्री स्टेफेन हकिङ्स ।
बेलायती समाचार संस्था बिबिसीले निर्माण गरेको ‘स्टेफेन हकिङ्स: एक्सपीडीसन् न्यु अर्थ’ नाम गरेको वृत्तचित्रमा हकिङ्सले उक्त चेतावनीबारे विस्तृतमा ब्याख्या गरेका छन् । बिबिसीले उक्त वृत्तचित्रलाई सन् २०१७ को अन्त्यतिर प्रसारण गर्नेछ ।
जलवायु परिवर्तन, आकासपिण्डले पृथ्वीलाई दिनसक्ने ठक्कर, रोगको महामारी, र अत्यधिक जनसंख्या बृद्धि जस्ता कुराले पृथ्वीमा मानवजातिको भविष्य सङ्कटमा पर्दै गएको हकिङ्सको तर्क छ । पृथ्वीमा मानवजातिको अस्तित्व सङ्कटमा पर्दै गएको र डरलाग्दो अवस्था आएको तर्क गर्ने हकिङ्स एक्ला वैज्ञानिक होइनन्।