वैशाख ३, २०७४- साउदी अरवस्थित नेपाली दूतावासले आममाफी अभियानमा सहयोग गर्न गठित सर्वदलिय समितिका सदस्य तथा एमालेनिकट प्रवासी नेपाली मञ्चका कार्यबाहक अध्यक्ष परशुराम मिश्रलाई कानुनी कारवाही गर्न साउदी प्रहरीको जिम्मा लगाएको छ ।
मिश्रले आममाफी प्रक्रियामा सहभागी भएर स्वदेश जान खोज्ने तीन नेपालीसँग ६ हजार रियाल (एक लाख ८० हजार रुपैया) लिएको पुष्टि भएपछि कारबाही गर्न साउदी प्रहरीको जिम्मा लगाएको दूताबासले जनाएको छ ।
गैरकानुनी हैसियत भएका कामदारलाई स्वदेश पठाउने अभियानमा सहयोग गर्न दूताबासद्धारा नेपाली संघसंस्था सहित क्रियाशील सवै राजनैतिक पार्टी सम्मिलित सर्वदलिय समिति बनाएको थियो ।
साउदीको राजधानी रियादस्थित वथामा ब्यवसाय समेत गर्दै आएका मिश्रले पुर्णधन राई, रामथापा मगर र कमानसिंह थापासँग नेपाल पठाइदिन्छु भन्दै प्रतिब्यक्ति १९ सय रियाल (६० हजार रुपैयाँ) लिएको स्वीकार गरेका छन् ।
तीन नेपाली कम्पनी छाडेर गैरकानुनी हैसियतमा साउदी काम गर्दै आएका थिए । साउदीले गैरकानुनी हैसियतमा बस्दै आएका आप्रवासी कामदारलाई विना सजाय स्वदेश फिर्न आममाफीको घोषणा गरेको थियो । मिश्रले उनीहरुलाई छिट्टै स्वदेश पठाइदिने भन्दै रकम लिएको स्वीकार गरेपछि प्रहरीको जिम्मा लगाएको दूताबासले जनाएको छ ।
साउदीमा झन्डै तीन दशकदेखि कार्यरत मिश्रलाई नेपालीले एउटा पाका ब्यक्तिको रुपमा लिन्थे । उनैवाट पीडित नेपालीलाई सहयोग गर्नुको सट्टा आममाफीको दुरुपयोग गरेकोले कारबाही गर्नुपरेको दूतावासको भनाई छ । प्रवासी नेपाली मञ्चले मिश्रलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको छ ।
मिश्रले साउदीमा फेन्सी सहित कार्गो गर्ने ब्यवसाय गर्दै आएका थिए । दूताबासले पीडक र पीडित दुवै पक्षलाई दूताबासमा बोलाएर बयान लिएको थियो ।
दुताबासले रकम लिई स्वदेश पठाइदिन्छु भन्दै यस्तो क्रियाकलापमा संलग्न भई दूतावासलाई बदनाम गराउन खोज्ने पात्रहरुसँग सजग रहन र यस्ता प्रवृतिलाई निरुत्साहित गर्ने अभियानमा सहयोग गर्नु सवैलाई अनुरोध गरेको छ ।